नयाँ दिल्ली । नेपाली किसानहरुले झेल्दै आएको समस्याबाट मुक्ति दिलाउन भारतले नेपाललाई रासायनिक मल उपलब्ध गराउने भएको छ ।
भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट ९ डीएपी मल सहयोग गर्ने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो।
त्यस्तै भारतले अहिलेकै एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ। त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ। रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ।