रौतहट, १८ माघ । रौतहट जिल्लाको विभिन्न नगरपालिकाहरुमा अबैध रुपमा संचालनमा रहेको करिव एक दर्जन मदिरा भठीलाई नेपाल प्रहरीले तोडफोड गर्नुको साथै करिव २२ सय लिटर तयारी एवं कच्चा मदिरा नष्ट गरेको छ ।
विशेष सुचनाको आधारमा गौर नगरपालिका वडा नम्वर ६ सपगढमा अबैध रुपमा संचालनमा रहेको २ वटा मदिरा भठीमा छापा मारेर ५०० लिटर कच्चा पदार्थ नष्ट गरेको छ भने मदिरा भण्डार गर्ने २ वटा ड्रम नियन्त्रणमा लिएको हो । कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरियामा लुकिछिपी रुपमा संचालन भईरहेको मदिरा भठीमा छापा मारेर ५ सय लिटर मदिरा नष्ट गरिएको र मदिरा उत्पादन गर्ने मेशिन १ थान, ड्रम २ थान र मिठा २० किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
यस्तै राजपुर नगरपालिकाको वडा नम्वर ५ मा ५ वटा मदिरा भठीलाई तोडफोड गरी तयारी र कच्चा पदार्थ गरी १५ सय लिटर मदिरा भुइमा पोखी त्याहा मदिरा उत्पादन गर्ने मेशिन ५ थान, ड्रम ८ थान र मिठा २० किलोग्राम बरामद गरिएको रौतहट प्रहरीको एसपी सिद्धीविक्रम शाहल जानकारी दिए ।
ग्रामिण भेगमा अबैध रुपमा संचालनमा रहेका मदिरा भठीको कारण समाजमा नकारात्मक असर परिरहेको र उच्श्रंखल गतिविधिमा वृद्धि हुँदै गईरहदा त्यस्ता अबैध कारोवारलाई नष्ट गर्न मातहतका युनिटहरुलाई कडाईको साथमा निर्देशन दिएको तथा जुन युनिट भित्र अबैध मदिरा भठी संचालन भएको पाइएमा युनिट प्रमुख विरुद्ध कारवाही हुने चेतावनी दिएपछि मदिरा भठीहरु नष्ट गर्ने अभियान सुरु भएको उनले स्पष्ट पारे ।