मतदाताले जे गराए

261 Shares

सञ्जय साह मित्र
चुनाव प्रचार नै निकै भडकिलो रह्यो । डिजे बाजासँगै त्यसै गाडीमा चुनावी गीत गाउँदै केटी नचाएर प्रचार गरेको, एक उम्मेदवारले दर्जनौँ स्कारपिओको लस्कर लिएर गाउँ पस्ने गरेको र अनेक किसिमको भोज गर्ने गरेको यथार्थ नै हो । गाउँको पोखरीका माछा सकिए, खोरको कुखुरा पनि सकियो । पहिले माछाको पोका, अनि कुखुराको मासुको पोका र त्यसपछि त खसीको मासुको पोका नै मतदाताको घरमा पु¥याए उम्मेदवारहरुले । यसमा पनि प्रतिस्पर्धा नै देखियो ।
वडा वा पालिकाको उपप्रमुख तथा प्रमुखका उम्मेदवार जसलाई विश्वास थियो कि म चुनाव जित्दैछु, ले अझ आफूलाई बलियो बनाउन र आफ्नो मतलाई खस्किन नदिन अझै धेरै त्याग गर्नुप¥यो । कतिपय मतदाताले बीस हजारसम्म ऋण लिएको तमसुक च्यात्न लगाए र साहु (वास्तवमा उम्मेदवार) बाट स्वतन्त्र भए । त्यसपछि अन्य उम्मेदवारसित नगद लिए । घरको एक मतदाताले नगद लिएपछि अर्को मतदाताले अर्को उम्मेदवारबाट नगद बुझे । एकै परिवारमा दुई वा तीन प्रतिस्पर्धीबाट नगद बुझेर मतदान कस्लाई गरे, उनैलाई थाहा होला ।
सामानको कुपन पनि खूब चल्यो । कुपन पालिका प्रमुख उम्मेदवारको आधिकारिक मानिसले बाँड्ने काम गरे । दुई भोटसम्मलाई पंखा र चार भोटसम्मलाई फ्रिज पनि कुपनबाटै लिए मतदाताले । यसरी घडी, कपडा, दराज र विभिन्न इलेक्ट्रोनिक सामान लिए ।
यसपटकको जति मदिराको खोलो कहिल्यै बगेन । मतदाताहरुले केही दिन उम्मेदवारको खूब खाए । उम्मेदवारहरुले हरेक साँझ कुनै निश्चित स्थानमा भोजको आयोजन गर्थे । क्वीन्टलमा मासु आउने र कार्टुनका कार्टुन अनेक किसिमका मदिरा हुने । मासु, चिउरा र मदिराको भोज हरेक दिन साँझमा भइरह्यो । जसलाई जति मन लाग्यो, खायो र घरसम्म पु¥याउन उम्मेदवारकै गाडीमा पु¥याउन लगायो । यसरी प्रचार प्रसारमा दिनहुँ हिँड्ने कार्यकर्ताका सान नै बेग्लै ।
मनोनयनपश्चात् र मतदानपूर्वको अवधिमा कुनै दलका कार्यकर्ताको घरमा यदि बिहे परेको थियो भने धेरै खर्च जोगियो । बिहेमा भोजको लागि धेरै सामान उम्मेदवारबाटै आयो । जन्ती जानको लागि गाडी पनि उम्मेदवारले चुनावको प्रचारमा लगाएकै गाडीले काम चल्यो । बिहेको घरमा बेहुला र बेहुलीलाई स्टेजमा चढेर आशीर्वाद दिने चलन निर्वाह गर्ने बेलामा उम्मेदवारहरुले मतदातालाई खुसी पार्ने गरी रकम पनि उपहार दिए ।
साँच्चिकै यसपटकको चुनावमा मतदाताले उम्मेदवारलाई आफ्नो खुट्टामा नै ढोग्न लगाए । उम्मेदवारहरुले धेरैको अगाडि अलिकति रिसाएका वा तर्केका उम्मेदवारको खुट्टैमा ढोगेर विगतमा भएका गल्ती र कमजोरीलाई क्षमा गरिदिन विनती गरे । जहाँ मतदाता छन्, त्यहीँ पुगे । मतदाताको खेत र बारीमा पनि उम्मेदवार पुगे । मतदातासँगै उनको काम गरिदिएको फोटो खिचाए । विपन्न मतदाताको गल्लीमा पुगे, छाप्रोमा पसे । सिङाने बालबालिकालाई माया गरेको जस्तो देखाए ।
यत्तिले मात्रै मतदातालाई पुगेन । मतदाताले आफ्नो हालत देखाए, हैसियत पनि देखाए । विगतमा कहिले, कहाँ र कसरी साथ दिएनन्, त्यो याद गराए । कहाँ चाहिँ धोका पाएको हो, त्यो पनि खुलाए । अनि कसरी विश्वास गर्ने ? यसको आधार खोजे । साथै, आफ्नो लागि के गरिदिने, परिवारको लागि के गरिदिने ? यसको पनि प्रतिबद्धता लिए । गाउँ र समाजको लागि त अधिकांश उम्मेदवारले घोषणापत्र, प्रतिबद्धतापत्र, संकल्पपत्र वा यस्तै केही सार्वजनिक गरेकै थिए, त्यसमा थप आएका विषयवस्तुलाई डायरीमा टिप्न लगाए ।
चुनावको मुखमा विभिन्न पार्टीका नेताहरुले टिकट पाउँदा वा नपाउँदाको अवस्थामा जसरी दल–बदल गरे, त्यसबाट उम्मेदवार वा कुनै दलको नीति, सिद्धान्त, त्याग वा आश्वासनप्रति सर्वसाधारण मतदाता विश्वस्त हुने अवस्था नै देखिएन । दलहरुले पनि पालिका चुनावमा देहातमा दलको भन्दा आफूलाई प्रमुख बनाएर प्रस्तुत गरे । आफूलाई प्रस्तुत गर्दा विश्वस्त भइसकेपछि बल्ल आफ्नो चुनाव चिन्ह देखाए । अधिकांश उम्मेदवारले मतदाताको मनोविज्ञान तथा अन्य अवस्था हेरेर कम्तीमा आफूलाई एक मत दिन अन्तिममा आग्रह गरे । मतदाताले पनि यसरी खुलेर आफूलाई मात्र मतदान गर्न भन्न नै लगाए उम्मेदवारलाई ।
उम्मेदवारहरुबाट मतदाताले आफ्नो गाउँलाई स्वर्ग बनाउने आश्वासन पाएका छन् । सम्भवतः यसै कारणले आफूलाई स्वर्गको देवता ठानेका छन् र भोट माग्न आउने उम्मेदवारलाई सेवक । सडक, पुल, शिक्षा, स्वास्थ्य तथा आफूलाई जुन जुन क्षेत्रको कुरा आउँछ, ती सबैलाई आफूले देखेको र सुनेको सबैभन्दा राम्रो बनाउने आश्वासन पाएका छन् । निशुल्क बिजुली, खानेपानी तथा कररहित सुविधाका साथै पालिकाके दिने सेवा चाहिँ अत्यन्तै चुस्त–दुरुस्त हुने आश्वासन पाएका छन् । सुरक्षा, विकास र सुविधाका अनेक प्रतिबद्धताहरु मतदाताले गराएका छन् उम्मेदवारसित ।
जातिवाद र नातावादले पनि धेरै हदसम्म मतदानपूर्व नै रङ देखाएको छ । मतदाताहरुले आफ्नो जातको र आफ्नो नाताको उम्मेदवारको जस्तोसुकै कमी, कमजोरी वा विगतको कर्तुतलाई नजरअन्दाज गरेका छन् । यस प्रकारका आफन्त जुनसुकै पार्टीबाट उम्मेदवार बनेका भए पनि आफ्नो पार्टीको उम्मेदवारलाई पन्छाएर आफन्तलाई नै साथ दिएका छन् । यो सबैको हकमा लागू हुँदैन तर धेरैले यही गरेका छन् । उम्मेदवारसित नाता जोड्ने र उम्मेदवारले पनि साइनो गाँस्ने काम व्यापक स्तरमा गरेका छन् ।
यदि उम्मेदवारको कुनै आफ्नो उद्योग वा ठूलो कारोबार छ भने त्यसमा आफ्ना छोरा वा आफन्तलाई जागिर दिने प्रलोभन पनि बाँडिएको छ । कतिपय मतदाताले त उधारोमा नभई नगदमै नियुक्ति पनि लिएका छन् । केही महिनाको तलब पनि पाएका छन् । सायदै कोही पालिका प्रमुखका उम्मेदवार होलान्, जसले निकटका मतदातालाई नोकरी दिने पक्का आश्वासन नदिएका होलान् ।
लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् । जनता सार्वभौम भएको सबैले मतदानकै समयमा देख्न पाएका छन् । मतदानमा सहभागी हुने मतदाता साँच्चै जनता जनार्दन भएको अहिले आफूलाई पाएका छन् । यसैले होला, सम्भवतः मतदानको लागि उम्मेदवारसित मतदाताले जे जे मन लागेको छ, सोही गराएका छन् । आफू सार्वभौम भएको देखाएका छन् । मतदाताले गराएका हुन् वा आफूलाई अब्बल देखाउन उम्मेदवारहरुले मतदातालाई त्यसरी गर्न–गराउन उक्साएका छन् तर यो ज्यादै खतरनाक प्रवृत्तिको विकास भएको छ । पालिकास्तरको चुनावमा असीम खर्च भएको छ । जो निर्वाचित भए पनि मतदाताको स्वविवेकबाट भएको हो, निर्वाचित जनप्रतिनिधि पालिकाको सर्वोच्च कार्यकारी निकायमा पुग्न सफल भएका हुन् तर अनियन्त्रित विकृतिको अनन्त अँध्यारोतर्फ लोकतान्त्रिक मान्यता एक पाइलो धकेलिएको देखिएको छ ।
मतदाताले स्वतन्त्रतापूर्वक विवेक प्रयोग गर्न पाउने वातावरण बन्न पाउनुपर्छ । अहिले देखिएको विकृति र विसंगतिलाई सम्भव भएसम्म रोक्ने प्रयास सबैतिरबाट हुनुपर्छ । चुनावको प्रचारदेखि नै खर्चलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न दलहरुको एकीकृत प्रयास आवश्यक देखिएको छ । समाजको बौद्धिक वर्गले पनि यसतर्फ वैचारिक अभियान थाल्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार