श्रीमननारायण
हालै सम्पन्न स्थानीयतहको निर्वाचन परिणामले नेपालीकाँग्रेसलाई देशको सवैभन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित गरेको छ । यसको संभावना पनि थियो । नेकपा एमाले दोस्रो स्थानमा रहने अनुमान त थियो तर नेपाली काँग्रेस एवं नेकपा एमालेवीच सिटको अन्तर यति बढी होला भन्ने अनुमान कसैको पनि थिएन । नेकपा माओवादी केन्द्रले सन्तोषजनक प्रदर्शन नै गरेको छ । मधेस प्रदेशमा उसको प्रदर्शन साह्रे निराशाजनक देखिएको छ । मधेस प्रदेसलाई र तराई मधेसलाई आफनो राजनीतिक ‘बिर्ता’ ठान्दै आएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई अप्रत्याशित असफलता हात लागेको छ ।मधेसी जनताका समस्यालाई समाधान गर्न कुनै ठोस पहल न गर्ने तर यसलाई सधैको निम्ति कमाइखाने भाँडो ठान्दै आएका कथित मधेसी दलहरुलाई यसपाली त्यहाँका जनताले ठूलो पाठ पढाएका छन् । ४ वर्ष सम्म मधेस प्रदेस सरकारको नेतृत्व गरेका र अहिले पनि नेतृत्व गर्दे आएका मधेसी दलहरुले स्थानीय चुनावमा प्राप्त गरेका सफलतालाई सन्तोषजनक मान्न सकिदैन ।
हालै सम्पन्न स्थानिय चुनावमा मधेसी दलले किन यती ठूलो असफलता भोग्नु प¥यो यसको कारण खोतल्नै पर्दछ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले विगतका दिनमा समानुपातिक कोटामा अपनी श्रीमती, नातेदार र व्यपारिक मित्रहरुलाई संविधानसभा, संसद र प्रदेशसभामा पु¥याउने काम गर्दै आएका थिए । अब स्थानीय तहको निर्वाचनमा पनि आफना परिवारिक सदस्यलाई उम्मेदवारबनाई आफनो निहित स्वार्थ पूर्ति गर्ने प्रयास गरेका थिए तर जनताले तिनको महत्वकाँक्षा माथि बज्रपात गरिदिए । सडक आन्दोलन गर्नेर्, धर्ना एवं अनशनमा वस्ने, गोलीखाने, शहादत दिने, पार्टी संगठनको निम्त्ती जीवनभर धनसम्पत्ती गुमाउने सामान्य एवं मध्यमवर्गिय परिवारका जनता तर सत्तासुख एवं अवसर आएको बेलामा प्यारासूटबाट आफना नातेदार, पारिवारिक सदस्य एवं व्यापारिक मित्रलाई लाभ पु¥याउने कुरा जनतालाई पनि यसपाली सहन भएन ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही वर्ष अधि सम्म मधेसी मसिहाका रुपमा प्रचलित थिए । आफूलाई मसिहा भन्न रुचाउथे पनि । वि.सं. २०६३ र वि.सं. २०६४ सालको मधेस आन्दोलनले उनलाई मधेसमा सर्वधिक लोकप्रिय नेता बनाउने काम पनि ग¥यो । वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा जनताले उनको पार्टीलाई राष्ट्रियमा राजनीतिको अग्रणी पंक्तिमा स्थापित गरे तर उनले जातिवाद महत्व दिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले आफनो छोरालाई राजनीतिमा स्थापित गर्न खोजेका थिए तर जनताले पत्यार गरेनन् ।
विराटनगर महानगरपालिकाको उपप्रमूखको पदमा उनले आफनो छोरा अमरेन्द्र यादवलाई उठाएका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र घोर संघियाता विरोध जनमोर्चाको समर्थन र सहयोगका वावजूद उनले आफनो गृहनगरमा आफनो छोरालाई चुनावमा विजयी गराउन सकेनन । वि.सं. २०६४ र २०७० को संविधान सभा निर्वाचनमा विराटनगरका जनताले उनललाई समर्थन गरी चुनाव जिताएका पनि थिए तर वि.सं. २०७४ सालमा विराटनगरको सट्टा उनले राजविराजवाट चुनाव लडे । विराटनगरका जनताले उनको विगत १५ वर्षको राजनीतिक गतिविधिको सुक्ष्म रुपमा विश्लेषण गर्दे आएका थिए । उनको सुपुत्रको पराजय नैतिक रुपमा स्वम उनको पराजय नै हो । मधेसवादको नारा दिएका उपेन्द्र यादवलाई मधेसका जनताले समाज सुधारक, अग्रणी नेता एवं आफनो समुदायको आर्थिक, समाजिक र राजनीतिक अवस्था अर्थात तिनको जनजिवनमा आमूलचुल परिवर्तन समग्र परिवर्तन ल्याउन सक्ने मसीहा ठानेका थिए । उनको आहावनमा जनताले ज्यान दिएका थिए । सैकडौ घाइते भएका थिए । कतिपयको घाउ पनि अहिले सम्म निको भएको छैन । मधेसका जनताले उनलाई आफनो अभिभावक ठानेका थिए तर उनी त आफनो छोरा अमरेन्द्र यादवका बुवा मात्रै सावित भए । आफनो छोराको ठाँउमा पार्टीका कुनै कार्यकतालाई उनले उम्मेदवार बनाएका भए सो सिट पार्टीले अवशय पनि जितने थिए । जतिवेला उनले आफनो छोरालाई पार्टीको विराटनगर नगर समितिको अध्यक्ष बनाएका थिए, त्यतिवेला पनि विरोध भएको थियो ।
संभवतः ५ वर्षको कार्यकाल पूरा गर्ने नेपालका एकमात्र मुख्यमन्त्री लालबाबू राउत गद्यीले आफनी श्रीमतीलाई गाँउपालिकाको उप प्रमूख पदमा उम्मेदवार बनाउनुको औचित्य नै के थियो ? भन्ने प्रश्न पनि उठी रहेको छ । आखिर उनकी श्रमितीले पनि पराजय भोगिन । विगतका दिनमा राजेन्द्र महतोको दाहिने हात मानिएका मधेस प्रदेसका सामाजिक विकासमन्त्री नवल किशोर साह पार्टीमा बिभाजन आउदा राजेन्द्र महतो भन्दा आफनो मन्त्री पदलाई प्यारो ठाने । उनका छोरा पनि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको प्रत्यासीबाट पराजित हुनु त्यस ठाँउवाट लोसपा र जसपाको विदाईको संकेत हो किनभने त्यस क्षेत्रका युवाहरु अव मधेसको नाउँमा बासी घोषण, नारा र आश्वासन सुन्न तयार छैनन् । जसपावाट समानुपातिकमा मधेस प्रदेसको सभासद बनेका र चारवर्ष सम्म मन्त्री रहेका रामनरेश राय यादव लोसपावाट जसपामा प्रवेश गरे पनि आफनो छोरालाई प्रमूखको पदमा पराजित हुनवाट रोक्न सकेनन् ।
राजेन्द्र महतो पनि आफूलाई मधेसी मसिहा भन्न रुचाउछन तर यसपालि आफनो दाई भाईलाई सर्लाहीको चन्द्रनगर नगरपालिकाको प्रमुख पदमा पराजित हुनवाट रोक्न सकेनन । विगतमा अफनी श्रीमतीलाई समानुपातिक कोटाबाट सांसद बनाएका महतोका भतिजा अहिले पनि निर्वाचित प्रादेसिक सांसद हुन । आफनी सम्धीनीलाई समानुपातिक कोटामा संविधानसभाका सदस्या र सम्धीलाई प्रदेश प्रमुख बनाएका महन्त ठाकुरले पनि महोत्तरीको गृह नगरपालिका पिपरामा आफनो पार्टीको उम्मेदवारलाई पराजित हुनबाट रोक्न सकेनन । लोसपाका एक अन्य नेताले पनि रौतहतको आफनो गृह गाउँपालिका दुर्गा भगवतीवाट एउटा वडा अध्यक्ष समेतलाई पनि जिताउन सकेन । येन केन प्रकारण शरद सिंह भण्डारीले आफनो गृहनगरपालिका सुरक्षित राख्न सफल भए । लोसपाका प्रदेश अध्यक्ष र आफनो निर्वाचन क्षेत्र तथा जिल्लामा अत्यधिक विकास गरेको दावी गर्ने, जितेन्द्र सोनलले पनि आफनो गृह गाँउपालिका परवानीपुर र परसौनी नेकपा एमालेलाई सुम्पिन बाध्य भए । जसपा र लोसपाका कतिपय सांसद र मन्त्री त आफनो गाँउमा २ दर्जन मत पनि पाउन सकेनन् ।
लोसपाले विगतमा जितेका राजविराज, जनकपुर, जलेश्वर र गौर जस्ता महत्वपूर्ण नगर पालिकाहरु गुमाउनु प¥यो । यति मात्रै होइन यसले महोत्तरी सर्लाही, सप्तरी र बारामा पनि आफना कतिपय पालिकाहरु गुमाउनु प¥यो । धनुषा र सिरहामा त खाता पनि खोल्न सकेनन । जसपाले वीरगंज तथा राजविराजलाई जोगाई राख्नुसफल भएको छ । महोत्तरीमा राम्रो प्रदर्शन गरेको छ तर मधेस प्रदेसमा अन्य जिल्लाहरुमा खासै उत्साहजनक प्रदर्शन गरेका छैन । पार्टीको प्रभाव विस्तार कम भएको छ तर आधार भूमि मधेस प्रदेश खुञ्चिन लागेको छ । प्रादेशिक राजधानी जनकपुरधाममा यसका नगर प्रमूख उम्मेदवारले लज्जास्पद पराजय भोग्नु जसपाको निम्ती राम्रो संकेत होइन । पार्टीले ५ दलको समर्थनका वावजूद जनकपुर र कलैया जोगाउन नसक्ने दुरभाग्यपूर्ण हो ।
मधेस प्रदेशमा नेपाली काँग्रसले पूनः आफनो आधारलाई हासिल गरेको छ । नेकपा एमाले, जसपा भन्दा पनि बढी सिट हासिल गर्नु मधेस प्रदेशका जनताको मधेसीदल प्रतिको वितृषणाको उपज हो । लोसपा खुम्चिएको छ । भोलिका दिनमा सि.के. राउतको जनमत पार्टी र हृदयेश त्रिपाठीको जनता प्रगतीशिल पार्टीले यस प्रदेमा आफनो सक्रियता बढाउने छ । नेपाली काँग्रेसको बढदो प्रभावले जसपालाई, एमालेका कारण माओवादीलाई र जनमत तथा जसपाका कारण लोसपालाई घाटा पुग्ने निश्चित छ । जनतामा राजनीतिक चेतना बढेको छ । राजनीतिक दलहरुले जन चाहनाको मूल्याङ्कन गरेन, मतदाताको चाहाना र उम्मेदवार चयनमा तारतम्म देखाएनन भने झन ठूलो पराजय झेल्नु पर्ने छ । पारिवारिक राजनीतिलाई जनताले खोरज गर्ने मानसिकता बनाएका छन ।