रौतहट, १५ जेठ । रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएका रामविनोद पटेल पदिय कार्यभार सम्हाले वित्तिकै नगरवासीलाई परिवर्तनको आभाष दिलाउन महत्वाकांक्षी योजनाहरु छिटै ल्याउने लागिएको छ ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको सुरुवात जनताको मन जित्ने तथा विगतको अवस्थाबाट फरक ढंगबाट नगरलाई सुदृढ बनाउने कार्यमा आकर्षक योजनाहरु चाँडै ल्याउने बताएको हो ।
निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मेयर पटेलले जनताको विश्वासलाई आधार बनाएर, प्रभावकारी एवं जनहितकारी कामबाट आफना कार्यकाल सुरु गर्न लागेको बताए । नगरलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधारको निर्माण लगायत कार्यलाई आफनो पहिलो प्राथमिकताको सूचीमा राखेर योजना ल्याउने उनले स्पष्ट पारे ।
प्रसुति गृहको अभावमा कतिपय गर्भवति महिलालाई प्रसुति गराउन बाहिर लैजानुपर्ने अवस्थामा कतिपयको अकाल्मै मृत्युवरण गर्नुपरेको बाध्यतालाई दुर गर्दै नगरमा भएका प्रसुति गृहहरुलाई व्यवस्थित गर्नुका साथै प्रसुति गृह नभएको ठाउँमा प्रसुति गृह निर्माण गरी निशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।
यस्तै, नगरपालिका भित्रबाट सम्पादन हुने पञ्जिकरण, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस निःशुल्क गर्ने तयारीमा जुटेको उनले भने । पलिकामा अधिकांश व्यक्ति कृषि पेशामा नै आश्रित रहेको हुँदा किसानलाई खेतीकिसानी गर्न सहज होस भन्ने उद्देश्यका साथ सिचाई नभएका ठाउँमा सिचाईको व्यवस्था गर्ने र सबै ठाउँमा विजुलीको व्यवस्था गरी विधुतीकरण गर्ने उनले बताए । त्यस्तै नगरमा विभिन्न उद्योग, कलकारखाना स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारी दिने व्यवस्थापन गरिने छ ।
पाँच वर्षे कार्यकालको अधिकाँश समय नगरको समृद्धि र विकासमा केन्द्रित गर्ने उदघोष गरेका नगर प्रमुख पटेलले प्रत्येक नगरवासीको भावना, चाहना र आवश्यक्ताको आधारमा कार्य गर्दै जाने बताए । नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका अपरिहार्य भएकोले सहयोग गर्न अपिल गर्दै जनताको कार्यमा अलिकति पनि ढिला सुस्ती नगरी छिटोछरितो काम गर्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
विभिन्न दलको टिकटबाट निर्वाचित भएर जनप्रतिनिधिहरु दलगत स्वार्थ भन्दा माथि उठेर निष्पक्ष, निर्भिक, निडर भई जनचाहना अनुसार काम गरी जनताको हृदय जित्न आग्रह गरे ।