उखु दिएको सात दिन भित्रै बाबा बैजुनाथले किसानको भुक्तानी दिदै

तराई टप संवाददाता
रौतहट, १८ माघ । बाबा बैजुनाथ सुगर एण्ड केमीकल इण्डष्ट्रीज प्रालीले उखु किसानहरुको रकम धमाधम भुक्तानी गर्ने कार्य सुरु गरेको छ ।
रौतहटको कटहरिया नगरपालिकाको वडा नम्वर ९ मा संचालनमा रहेको उक्त मिल्समा उखु दिने किसानहरुलाई भुक्तानी दिइरहेको बताइएको हो । दैनिक २५ हजार क्यून्टल उखु क्रशिंग गर्ने क्षमता रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिजले आफनो स्थापना काल देखि नै किसानहरुलाई कुनै असुविधा नहोस, मिल्स आइसकेको सात दिन भित्र भुक्तानी गरिरहेको मिल्सको प्रमुख बैजु बाबराले जानकारी दिए ।
मिल्स नयाँ रहेको हुँदा यसलाई संरक्षण सम्बर्धन गर्ने जिम्मेवारी रौतहटको उखु किसानहरुको रहेको बताउदै उखु किसानहरु कुनैपनि विचौलियाको इशारामा नपरेर सोझै मिल्स व्यवस्थापन पक्ष संग सम्पर्क राख्न समेत उनले आग्रह गरे । उखु किसानहरुको लागि आउदो सिजन देखि लगानी गरी उन्नत जातको उखु लगाउनमा मद्दत गर्ने प्रतिबद्धता जनाए ।
रौतहटको पुरानो श्रीराम सुगर मिल्सको आन्तरिक गडवडीको कारण बन्द भएपछि किसान र कारखाना मजदुरहरुको निकै दुख झेल्नुपरेको अवस्थामा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिजको स्थापनाबाट रौतहटको किसानहरु झेल्दै आएको समस्याबाट मुक्ति पाएको किसानहरु बताउँछन् ।