साना किसानहरुको बैंक खातामा १० हजार रुपैया पठाउने भए मधेश सरकारले

   १५ जेष्ठ २०७९, आईतवार १५:०४  

जनकपुरधाम, १५ जेठ । मधेश सरकारले साना किसानहरुको बैंक खातामा सिधै १० हजार रकम पठाउने निर्णय गरेको छ ।
मधेश सरकारले प्रदेश भित्र रहेका सीमान्तकृत तथा आर्थिक अवस्था कमजोर रहेका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग हेतु मधेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि अन्तर्गत सिधै किसानको खातामा १० हजार रकम पठाइदिने निर्णय गरेको हो ।
मानव विकास सूचकांकमा पछाडी परेका वर्ग तथा शहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसंख्यक समुदाय, एकल महिला तथा कृषि पेशाबाहेक निर्वाहको अन्य कुनै उपाय नभएका साना किसानलाई प्राथमिकता दिएर यो रकम पठाइने प्रदेश सरकारले जनाएको छ ।
तत्काल एक जिल्लाको एक पालिकामा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
आवेदन दिन के के चाहिन्छ ?
यो अनुदान पाउन साना किसानले केही कागजातहरु सहित आवेदन दिनुपर्छ । घरमुलीको नागरिकता, एकाघरका सदस्यको नाममा भएको सम्पूर्ण जग्गाको लालपूर्जाको प्रतिलिपी वा जग्गा भाडामा लिएको भए जग्गा धनीसँगको सम्झौता पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।
सम्बन्धित स्थानीय तहबाट निवेदनको जीविकोपार्जनको पेशा कृषि रहेको सिफारिस पनि चाहिने कार्यविधिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै