मधेशवादको सस्तो नाराबाट टाढा रहनेको विरुद्धमा अहिलेको जनादेश

   १८ जेष्ठ २०७९, बुधबार १४:५६  

प्रभातकुमार झा
सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामको माध्यमबाट तराई मधेशका जनताहरु साफ शब्दमा संकेत दिएको छ कि परिवारवादको राजनीति अब चल्दैनन । विचारवाद, विकासवाद, उन्नतीवाद, समृद्धबाद बाहेक अन्य बादहरुको स्थान अव तराई मधेशका जिल्लाहरुमा चल्न सक्दैनन् ।
निर्वाचनले नेपाली काँग्रेसलाई देशमा सबै भन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित गरे । नकेपा एमालेलाई दोश्रो र नेकपा माओवादीलाई तेश्रो ठूलो पार्टीको रुपमा स्थापित गरे । हुनत चुनाव अघि विज्ञहरु यस्तै आकलन गरेका थिए जुन निर्वाचन पछिको परिणामले देखायो । तर मधेशको नाममा राजनीति गरेर ठूलाबडा राजनेता कहलाउनेहरुको फिसड्डी प्रदर्शन गर्छ भने आश नगरेका कारण अहिले उक्त पार्टीहरुमा निराशा छाउनु स्वभाविक नै भएको छ किन भने आउदो संघिय र प्रादेशिक निर्वाचनमा यो भन्दा पनि तल स्तरको प्रदर्शन गर्ने त होइन भने प्रश्न उब्जीएको छ ?
आठ जिल्लामा सिमित पारिएको मधेस प्रदेश र तराई मधेसलाई आफनो राजनीति गर्ने थलो ठान्दै आएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई अप्रत्याशित असफलता र लज्जाष्पद अवस्थामा पुर्याएको छ । मधेसी जनताका समस्यालाई समाधान गर्न कुनै ठोस पहल नगर्ने तर यसलाई सधैं कमाइ खाने भाँडो वा सरकार सम्म पुग्ने पुल बनाएकाहरु कथित मधेसी दलहरूलाई यसपाली यसभेगका जनताले ठूला सबक सिकाए । ४ वर्ष सम्म मधेस प्रदेश सरकारको नेतृत्व गरेका र अहिले पनि नेतृत्व गर्दै आएका मधेसी दलहरुले स्थानीय चुनावमा प्राप्त गरेको मतलाई कुनै पनि अवस्थामा सन्तोषजनक मान्न सकिदैन ।
हालको स्थानीय चुनावमा मधेसी दलले किन यति ठूलो असफलता भोग्नु पर्यो, यसको कारण खोतल्नु जरुरी भएको छ । जसपा र लोसपाका नेताहरुले विगतका दिनमा समानुपातिक कोटामा आफना श्रीमती, नातेदार र व्यापारी मित्रहरुलाई संविधानसभा, संसद र प्रदेशसभामा पुर्याउने काम गर्दै आएका थिए । यही क्रममा स्थानीय तहको निर्वाचनमा पनि आफनो परिवारिक सदस्यलाई उम्मेदवार बनाई निहित स्वार्थ पूर्ति गर्ने प्रयास गरेको कारण उनीहरुको मनसा माथि जनताले तुषापात गरिदिएको छ ।
सडक आन्दोलन गर्ने, धर्ना एवं अनशनमा वस्ने, गोली खाने, शहादत हुने, पार्टी संगठनको लागि जीवनभर धनसम्पत्ति गुमाउने सामान्य एवं मध्यम वर्गीय परिवारका युवकहरु अगाडी बढ्ने तर सत्तासुख एवं अवसर आएको बेलामा एकाएक चोरबाटो भएर आफना नातेदार, पारिवारिक सदस्य एवं व्यापारिक मित्रलाई लाभ पुर्याउने कुरा जनतालाई पनि यसपाली सहन गर्न सकेनन ।
जसपाका अध्यक्ष उपेन्द्र यादव केही बर्ष अघिसम्म मधेसी मसिहाका रुपमा चिनिएका थिए । २०६३÷२०६४ को मधेस आन्दोलनले उनलाई मधेसमा सर्वाधिक लोकप्रिय नेता बनायो । पहिलो संविधानसभा निर्वाचनमा जनताले उनको पार्टीलाई राष्ट्रिय राजनीतिको अग्रणी पंक्तिमा उभ्यायो तर उनले जातिवादलाई बढी महत्व दिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले आफनो छोरालाई राजनीतिमा स्थापित गर्न खोजेका थिए तर जनताले नपत्याई असफल बनाइदिए ।
विराटनगर महानगरपालिकाको उपमेयरमा उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनको साझा उम्मदेवार बनाएपनि आफनो गृहनगरमा छोरालाई चुनावमा विजयी गराउन सकेनन् । जबकि गठबन्धनका तर्फबाट काँग्रेसका नागेश कोइराला विराटनगरको मेयरमा विजयी हुन सफल भए ।
२०६४ र २०७० को संविधानसभा निर्वाचनमा विराटनगरका जनताले उपेन्द्रलाई चुनाव जिताए । तर २०७४ मा विराटनगरको सट्टा उनले राजविराजबाट चुनाव लडे । विराटनगरका जनताले उनको विगत १५ वर्षको राजनीतिक गतिविधिको सुक्ष्म रुपमा विश्लेषण गर्दै आएका थिए । उनको सुपुत्रको पराजय नैतिक रुपमा स्वयम् उनको नै पराजय भएको स्वीकार्य गर्नु बाहेक अन्य कुनै विकल्प जनताले बाँकी राख्न दिएनन ।
मधेसवाद उग्र नारा दिएका उपेन्द्र यादवको आह्वानमा जनताले ज्यानको आहुति दिएका थिए । सयकडौं घाइते भएका थिए । कतिपयको शरिरमा आलो घाउ अहिलेसम्म निको भएको छैन । मधेसका जनताले उनलाई आफनो अभिभावक ठानेका थिए तर उनी पनि उपेन्द्र यादव जस्तै बुवा सावित भए । आफ्नो छोराको ठाउँमा अन्यलाई उम्मेदवार बनाएको भए सो सिट पार्टीले अवश्य पनि जित्ने थियो । जतिवेला उनले आफनो छोरालाई पार्टीको विराटनगर नगर समितिको अध्यक्ष बनाएका थिए, त्यतिबेला पनि विरोध भएको थियो ।

मधेशवादको नारालाई मधेशी जनताहरु मान्न तयार छैनन् । इमान्दार एवं विकासपुरुषको खाँचो रहेको छ । मधेशी जनताहरु धेरै ठगिसके अब सस्तो नारामा नझकी आफनो हक हित र अधिकारको लागि माधेशी जनताहरु परिवारवादको राजनीतिबाट टाढा रहन संकेत अहिलेको जनादेशले देखाएका छन् ।


५ वर्षको कार्यकाल पूरा गर्ने नेपालका एकमात्र मुख्यमन्त्री हुन् लालबाबु राउत । उनले आफनी श्रीमतीलाई गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनाउनुको औचित्य नै के थियो ? भन्ने प्रश्न पनि उठिरहेको छ । आखिर उनकी श्रीमतीले पनि पराजय भोगिन् ।
राजेन्द्र महतोको दाहिने हात मानिएका मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह पार्टी विभाजन हुँदा राजेन्द्र महतो भन्दा आफनो मन्त्री पदलाई प्यारो ठाने । साहका छोराले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा टिकट त पाए । तर जनमत पार्टीको प्रत्यासीबाट पराजित हुनु पर्यो । जसपावाट समानुपातिकमा मधेस प्रदेशको सभासद बनेका र चार वर्षसम्म मन्त्री रहेका रामनरेश राय यादव लोसपावाट जसपामा प्रवेश गरे पनि आफ्नो छोरालाई पालिका प्रमुखको पदमा पराजित हुनबाट रोक्न सकेनन् ।
राजेन्द्र महतो पनि आफूलाई मधेसी मसिहा भन्न रुचाउँछन् । तर, यसपालि आफ्नो दाई महेन्द्र महतोलाई सर्लाहीको चन्द्रनगर नगरपालिकाको प्रमुख पदमा पराजित हुनवाट रोक्न सकेनन् । विगतमा आफनी श्रीमतीलाई समानुपातिक कोटाबाट सांसद बनाएका महतोका भतिजा अहिले पनि निर्वाचित प्रादेशिक सांसद हुन् । आफनी सम्धीनीलाई समानुपातिक कोटामा संविधानसभाको सदस्य र सम्धीलाई प्रदेश प्रमुख बनाएका महन्त ठाकुरले पनि महोत्तरीको गृह नगरपालिका पिपरामा आफनो पार्टीको उम्मेदवारलाई पराजित हुनबाट रोक्न सकेनन् । लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा अत्याधिक विकास गरेको दावी गरे पनि आफनो गृह गाउँपालिका परवानीपुर र परसौनीमा नेकपा एमालेलाई सुम्पिन बाध्य भए । जसपा र लोसपाका कतिपय सांसद र मन्त्री त आफनो गाउँमा २ दर्जन मत पनि पाउन सकेनन् ।
यस्तै दुई पटक भन्दा बढि मन्त्री बनेका अनिलकुमार झा आफनै गृह गाउँ दुर्गा भगवती गाउँपालिकाको परै जाओस आफैनै गाउँमा वडा सदस्य समेत जिताउन नसक्ने अवस्थाको कारण सम्पन्न स्थानीय निर्वाचिनको परिणामबाट जसपा र लोसपालाई लज्जाबोध भएको पक्कै होला ? तर यसको समिक्षा गर्नु अति नै अपरिहार्य रहेको छ ।
लोसपाले विगतमा जितेका राजविराज, जनकपुर, जलेश्वर र गौर जस्ता महत्वपूर्ण नगर पालिकाहरु गुमाउनु पर्यो । यति मात्रै होइन, यसले महोत्तरी सर्लाही, सप्तरी र बारामा पनि आफना कतिपय पालिकाहरु गुमाउनु पर्यो । धनुषा र सिरहामा त खाता पनि खोल्न सकेनन् । जसपाले वीरगंज तथा राजविराजलाई जोगाई राख्न सफल भएको छ, महोत्तरीमा राम्रो प्रदर्शन गरेको छ तर समग्र मधेस प्रदेशमा अन्य जिल्लाहरुमा खासै उत्साहजनक नतिजा ल्याउन सकेन । प्रादेशिक राजधानी जनकपुरधाममा नगर प्रमुख उम्मेदवारले लज्जास्पद पराजय भोग्नु जसपाको निम्ति राम्रो संकेत होइन । पार्टीले ५ दलको समर्थनका वावजुद जनकपुर र कलैया जोगाउन नसक्नु दुर्भाग्यपूर्ण छ ।
मधेस प्रदेशमा नेपाली काँगे्रसले पुन ः आफनो जनाधार रहेको प्रमाणित गरेको छ । त्यहाँ एमालेले जसपा भन्दा पनि बढी सिट हासिल गर्नु मधेस प्रदेशका जनताको मधेसी दल प्रतिको वितृष्णाको उपज हो । लोसपा झन खुम्चिएको छ । जसपा र लोसपा मिलन् भन्ने जनताको सन्देश छ । भोलिका दिनमा सीके राउतको जनमत पार्टी र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले यस प्रदेशमा आफ्नो सक्रियता बढाउने संकेत देखिन्छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको हठबादी र मधेश माथि हेर्ने दृष्टिकोर्णमा विचलन आएको कारण अहिलेको अवस्था जसपाले बेहोर्नु परेको छ । जसपा भित्र उपेन्द्रको नेतृत्वलाई अस्वीकार्य गर्ने पक्षहरु चर्को लविंग गर्ने तयारीमा जुटेका छन् । पार्टी नेतृत्वको कमी कमजोरीका कारण जसपा तराई मधेशका जिल्लाहरुमो सामान्य प्रदर्शन समेत गर्न सकेनन ।
मधेसमा नेपाली काँग्रेसको बढ्दो प्रभावले जसपालाई, एमालेका कारण माओवादीलाई र जनमत तथा जसपाका कारण लोसपालाई घाटा पुग्ने निश्चित छ । मधेशवादको नारालाई मधेशी जनताहरु मान्न तयार छैनन् । इमान्दार एवं विकासपुरुषको खाँचो रहेको छ । मधेशी जनताहरु धेरै ठगिसके अब सस्तो नारामा नझकी आफनो हक हित र अधिकारको लागि माधेशी जनताहरु परिवारवादको राजनीतिबाट टाढा रहन संकेत अहिलेको जनादेशले देखाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै