मुस्लिमलाई दलित र गैर अल्पसंख्यकलाई अल्पसंख्यक बनाएकोमा गुजरामा तनाव

   २१ जेष्ठ २०७९, शनिबार १६:३८  

रौतहट, २१ जेठ । गैर दलित व्यक्तिलाई र अल्पसंख्यक व्यक्तिको सूचीमा नाम दर्ता गरिएको हुँदा उक्त नाम हटाई उनीहरुको उम्मेदवारी रद्द गर्नुपर्ने माग राख्दै रौतहटको गुजरा नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गरिरहेका छन् ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको पदाधिकारीहरु र दलित एवं अल्पसंख्यक व्यक्तिको निर्वाचत गराएर कार्यपालिकालाई पूर्ण बनाउनु पर्ने प्रावधान रहेको हुँदा गुजरा नगरपालिकाको कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा नेकपा एमाले र नेकपा एसका समर्थकहरुद्धारा शनिवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको हो ।
नगर कार्यपालिका सदस्यका लागि आयोगले दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने प्रावधान बनाएको छ । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
निर्वाचन आयोगले दलितको स्थानमा गैरदलित मुस्लिम व्यक्ति आरिफ मियां दर्जी, असगर अलि अन्सारी तथा अल्पसंख्यकमा विजय साह बनियाको नाम कार्यपालिका सदस्यको सुचीमा उम्मेदवारी का लागि दर्ता गरेपछि शुक्रबार देखि विवाद सुरु भएको थियो । निर्वाचन अधिकृत बद्रीप्रसाद कोइराला जसपा संग आर्थिक प्रभावमा परेर निर्वाचन आयोगको निर्देशन विपरित उम्मेदवारी दर्ता गराएको आरोप एमाले र समाजवादी पार्टीले लगाएको छ ।
ती पार्टीका कार्यकर्ताले निर्वाचन प्रक्रिया तत्काल रोक्का गर्न भन्दै लिखित उजुरी दर्ता गराएका छन् । आयोगले कानुन विपरित दलित सिफारिस गराई आँखामा छारो हाल्ने काम गरिरहेको एमाले नेता अनमोल कार्कीले बताए । जसपाको टिकटबाट मेयरमा नवनिर्वाचित भएका सन्तलाल चौधरीको इसारामा जसपाकै कार्यपालिका उमेदवारको रूपमा आरिफ मियां दर्जी र विजय साह बनियाको उम्मेद्बारी दर्ता गरिएको एमाले नेता शेख एकरामुल हकले गम्भीर आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै