गोलभेडाको शहरबाट एक महिनामा १९ करोडको तरकारी निकासी

223 Shares

सर्लाही, २४ जेठ । सर्लाहीको लालबन्दीबाट एक महिनामा १९ करोड मूल्यबराबरको तरकारी निकास भएको छ ।
गोलभेडाको शहरको रुपमा प्रख्यात रहेको सर्लाहीको लालबन्दी बजारबाट गत एक महिनाको अवधीमा उक्त मूल्य बराबरको तरकारीको निकासी भएको हो ।
कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार गएको वैशाख महिनामा यहाँबाट १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाँ बराबरको तरकारी निकासी भएको छ । गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजारको निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।
निकासी भएको तरकारी मध्ये सबैभन्दा धेरै गोडभेँडाको कारोबार भएको छ भने त्यसपछि हाइव्रिड बोडीको निकासी भएको उनले भने । बोडी एक करोड ९४ लाख ७९ हजार रुपैयाँको बराबरको कारोबार भएको व्यवस्थापक घिमिरेले जानकारी दिए ।
गोलभेँडा, बोडीसँगै यहँबाट खुर्सानी, भान्टा, करेला, सिमी, घिरौँला, काँक्रो लगायतका तरकारी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति अध्यक्ष तोरनबहादुर मगराती मगरले बताए । यस भेगका किसानहरुले लालबन्दी बजारमा ल्याएर बेच्ने तरकारी सर्लाहीको विभिन्न हाट बजार सहित काठमाण्डौं, वीरगञ्ज, नारायणगढ, पोखरा, जनकपुर, सिन्धुली, बुटबल, लगायत मुलुकको विभिन्न शहरहरुमा निर्यात हुने गरेको उनले भने ।
स्थानीय स्तरमा हरिवन, ईश्वरपुर, बरहथवा, बागमती, चन्द्रनगर, हरिपुर, कविलासी, सहित विभिन्न पालिकाका किसान तथा छिमेकी जिल्ला महोत्तरीका किसानहरु समेत लालबन्दी बजारसम्म आफूले उब्जाएको तरकारीहरु ल्याएर थोक रुपमा विक्री गर्ने गरेका छन् । बेमौसमी तथा मौसमी तरकारीहरु बेचेरै यस क्षेत्रका किसानले आफ्नो जीविकोपार्जन गर्दै मग्नय आमदानी आम्दानी गर्दै सुखी जिवन विताइरहेको अध्यक्ष मगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार