रौतहटमा बन्दको प्रभाव ठूला सवारी साधनमा मात्रै, व्यापारीक प्रतिष्ठानमा आंशिक प्रभाव

   २२ माघ २०७७, बिहीबार १६:३६  

रौतहट, २२ माघ । संविधान विपरित कार्य गरेको तथा काठमाण्डौ लक्ष्ति कार्यक्रमलाई विफल तुल्याउन नेकपा दहाल नेपाल समुहको घोषित आम हडताल रौतहटमा आँशिक प्रभाव परेको छ ।
लामो तथा सानो दुरीमा चल्ने ठूला सवारी साधनहरु नचलेपनि साना सवारी साधनहरु निर्वाध रुपमा चलेको, सदरमुकाम गौर र गरुडामा हडतालको प्रभाव नदेखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
पुर्व पश्चिम राजमार्गमा अवस्थित रौतहटको चन्द्रपुरमा व्यापारिक प्रतिष्ठानमा बन्दको आंशिक प्रभाव देखिएपनि तिन पाँग्रे, चार पाँग्रे र दुई पाँग्रे सवारी साधनहरु गुडेका थिए भने शिक्षण संस्थाहरुमा बन्दको असर नदेखिएको बताइएको छ । गौरमा विहान दहाल नेपाल समुहले व्यापारिक प्रतिष्ठान बन्द गराएपछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सचिवालय सदस्य रबी मिश्रले बन्द रहेको व्यापारीक प्रतिष्ठानहरु खुलाउदै हिडेको थियो ।
विद्यालयहरु खुला राख्ने वा बन्द राख्ने बिषयमा दोधारे मनस्थितिमा रहेका शिक्षण संस्थानहरुमा अनेरास्ववियूका सचिवालय सदस्य मिश्र पुगेर निर्वाध रुपमा शैक्षिक संस्था संचालन गर्न आग्रह गरे । कोभिडको महामारीबाट प्रभावित भएको शिक्षण संस्थाहरुलाई बन्दको प्रभावबाट टाढा राख्न समेत सम्बन्धित पक्ष संग उनले आग्रह गरे ।
दहाल नेपाल समुह संघर्ष समितिको नगर संयोजक विक्रान्त विक्रम नेपाल सहितका युवाहरुले गौरमा प्रदर्शन गरी बाटोमा टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेर टायर बल्न नदिएको जिल्ला प्रहरी कार्यालय रौतहटको श्रोतबाट जानकारी प्राप्त भएको छ ।
पूर्व पश्चिम राजमार्ग तथा गौर चन्द्रनिगाहपुर सडकमा नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएर ओली सरकार विरुद्ध चर्को नारावाजी गरिए । नेता रामकुमार भटराईको अगुवाईमा चन्द्रपुरमा गरिएको प्रदर्शनमा नेता तथा कार्यकर्ताहरुको उल्लेख उपस्थिति रहेको थियो ।
यसैगरी गरुडामा सडक अवरुद्ध गरेर टायर जलाउन खोज्दा नेकपा प्रचण्ड–नेपाल समूहका नेता विपिन जयसवाल, शेख कलिमुल्लाह, श्यामनन्दन सहनी, ननिपत सहनी, शेख सदाम र शेख कौशरलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ ।
रौतहट प्रहरीको एसपी सिद्धीविक्रम शाहले आजको आम हडताल रौतहटमा आंशिक रुपमा परेको र गरुडाबाट नियन्त्रणमा लिइएको व्यक्तिहरुलाई आवश्यक अनुसन्धान पछि वेलुकी छाड्ने तथा समग्र रुपमा रौतहट जिल्लामा शान्तिपूर्ण रहेको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै