हुलाकी राजमार्गको सर्लाहीमा निर्माणको कार्य गति नलिदा यात्रुलाई सास्ती

248 Shares

सर्लाही, ३१ जेठ । मेची देखि महाकाली सम्म निर्माणाधिन हुलाकी सडक खण्ड अन्तर्गत पर्ने सर्लाही जिल्लामा निर्माण कार्य गति लिन सकेको छैनन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको विभिन्न स्थानमा कछुवा गतिमा निर्माण कार्य भईरहदा कार्यले गति नलिदा उक्त बाटो भएर आवतजावत गर्ने जनताहरु सास्ती खेप्नु परेका हुन् ।
हुलाकी राजमार्ग आयोजना कार्यालय, जनकपुरले सर्लाहीमा सग्रामपुरस्थित बाँके खोला देखि पश्चिमी भेग बलरा नगरपालिकाको बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम गराइरहेको छ ।
हुलाकी सडकमा पर्ने गोडैता नगरपालिका स्थानीय बासिन्दा चिरञ्जीवी झाले सडकको निर्माण कार्य निकै सुस्त गतिमा अघि भईरहदा उक्त सडक भएर आवतजावत गर्ने आम नागरिकहरु निकै सास्ती खेप्दै आएपनि सम्बध निकाय उदाशिन रहेको आरोप लगाए ।
वर्षौ बर्ष देखि अत्यन्तै जिर्ण अवस्थामा रहेको हुलाकी सडकको निर्माण कार्य पूरा नहुँदा दक्षिणी भेगका नागरिकहरुलाई अप्ठयारो झेल्नु परेको उनले गुनासो गरे । हिउँदमा धूलो धुलाम्म हुने यो सडक केही दिनदेखि निरन्तर वर्षा भइरहँदा अहिले भने हिलो हिलाम्मे अवस्थामा पुगेपनि निर्माण कम्पनीको जवाफदेहिता अलिकति पनि नदेखिएको उनले भने ।
हुलाकी सडक निर्माणका लागि यहाँका वासिन्दाले लामो समयदेखि दबाब दिँदै आइरहेको छ । सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले गत वर्ष जिल्लाका सांसद, पालिकाप्रमुख, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरु धर्नामा समेत बसेका थिए ।
संघिय सरकारको मन्त्रीहरुले पटक–पटक जिल्ला आएर आश्वासन दिँदा समेत हुलाकी सडकको अवस्था नफेरिँदा यहाँका वासिन्दा निराश भइरहेका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महतोले हुलाकी सडक निर्माणको काम धमाधम अघि बढिरहेको दावी गरेपनि भनाई अनुसारको काम नभएको स्थानीयको भनाई छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार