रौतहट, २ असार । स्थानीय तहमा नव निर्वाचित भएका मेयर सहितका जनप्रतिनिधिहरुले विगतको दिनमा विग्रिएको अवस्थालाई सुधार गर्नमा यतिखेर लागि परेका छन् ।
गौर नगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै नगरमा विग्रिएको क्षेत्रहरुलाई प्राथमिकताको सूचीमा राखेर अनुगमन निरीक्षण गर्दै सुधार्दै अघि बढेका हुन् । पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गराउने सोचका साथ नगरमा रहेका माध्यमिक विद्यालय देखि लिएर प्राथमिक विद्यालयमा सुधार गरेर अध्ययनरत छात्रछात्राहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने अभियानमा संकल्पित भएर दैनिक रुपमा अनुगमन निरीक्षण कार्यलाई जारी राखेका छन् ।
यसैक्रममा गौर नगरपालिका ३ विद्यापति नगरमा रहेको शिव मन्दीर परिसरमा रहेका आधारभुत विद्यालयमा छड्के अनुगमनको क्रममा कक्षा कोठामा बालबालिकाहरुको के कस्तो समस्या रहेको छ, पढाई राम्ररी भईरहेको छ कि छैन्, शिक्षक शिक्षिकाहरु समयमा विद्यलायमा उपस्थित हुने गरेको छ कि छैनन्, खाजा समयमा दिइरहेको छ कि छैनन जस्ता समस्याहरु बुझेर प्रधानाध्यापकलाई आवश्यक निर्देशन दिए ।
मेयर साहको उक्त विद्यालयमा अनुगमनको क्रममा कर्मचारी रजिष्टर र विद्यार्थी रजिष्टरको रेकर्ड हेर्दा १० जना शिक्षकको दरबन्दी भएको उक्त आधारभुत विद्यालयमा ५ जना मात्रै शिक्षक उपस्थित रहेको पाइयो । शिक्षक अनुसारको विद्यार्थीहरुको उपस्थित अत्यन्तै न्यून रहेको हुँदा विद्यालय सुधारको लागि आवश्यक पहल गर्ने सोही अनुसार प्रधानाध्यापकले नगरपालिका संग समन्वय राख्न निर्देशन दिए ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याएर यहाँको शिक्षालाई गुणस्तरिय बनाएर विद्यार्थीहरुलाई अब्बल बनाउने कार्यमा दिन रात खटिरहदा आभिभावक शिक्षकहरुले पनि यस कार्यमा सहयोग गरेमा मात्रै सुधार आउने मेयर साहले बताए । अनुगमनकै क्रममा केही दिन अघि पारिवारिक झोले विद्यालय फेला परेका थिए, तिनिहरु विरुद्ध कारवाहीको प्रक्रिया अघि बढाइएको स्पष्ट पारे ।