श्रोत नखुलेको रकम सहित आलम रौतहट प्रहरीको फन्दामा

तराई टप संवाददाता
रौतहट, २६ माघ । श्रोत नखुलेको २१ लाख ९० हजार नेपाली रुपैया नगद र ३१ लाख १६ हजारको पाँच थान चेक सहित एक जना व्यक्तिलाई रौतहट प्रहरीले गौर नगरपालिकाबाट सोमवार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सुचनाको आधारमा गौर नगरपालिकाको वसपार्क नजिक रहेको गस्ती टोलीले आज दिउसो २ बजेको समयमा चेकजाँच गर्ने क्रममा भारतीय नम्वर प्लेटको स्कुटरलाई रोकेर खानतलासी गर्दा श्रोत नखुलेको उक्त रकम बरामद भएको हो ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर १ जिगडवा वेलविछुवाका २७ बर्षिय दिलसाद आलम चढेको नम्वर नभएको भारतीय स्कुटरको सिटमुनी प्लास्टिकले बेरिएको अवस्थामा २१ लाख ९० हजार रकम बरामद भएको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।
एक हजारको १८१० थान, ५०० को ४८० थान र १०० को ३०० थान, ५० को १८०० थान, २० को ९०१ थान र १० को २०० थान गरी २१ लाख ९० हजार सहित आलमको नाममा ३१ लाख १६ हजारको चेक थान ५ र एक थान मोवाइल बरामद भएको आलमलाई सम्पत्ती सुद्धिकरण विभागमा आवश्यक कारवाहीको लागि आजै साँझ पठाइएको उनले जानकारी दिए ।
बरामद भएको मोवाइलमा रहेको वाट्स ऐपको आधारमा प्रहरीले छानविन सुरु गरेको र आलम हुण्डी कारोवारमा संलग्नता रहेको हँुदा आवश्यक कारवाहीको लागि सम्पत्ती सुद्धिकरण विभागमा पठाइएको जानकारी दिदै एसपी शाहले पछिल्लो समयमा श्रोत नखुलेको यस्ता अबैध रकमहरु बरामद हुने क्रम जारी रहेको हुँदा प्रहरीले सुक्ष्म अनुसन्धान गरी विभिन्न स्थानहरुमा छापा मारेर नियन्त्रणमा लिने कार्य जारी राखेको भएपनि यो सवैभन्दा बढि रकम बरामद भएको समेत उनले स्पष्ट पारे ।