भारतले आउदो ५ बर्ष भित्रमा हाइपरसोनिक मिसाइल तयार गर्ने घोषणा

   ५ असार २०७९, आईतवार ०६:५४  

नयाँ दिल्ली । भारतले आउदो ५ बर्ष भित्र हाइपरसोनिक मिसाइल तयार गरिसक्ने घोषणा गरेका छन् ।
भारतमै तयार गरिन लागिएको हाइपरसोनिक मिसाइल भारत—रुसको संयुक्त रक्षा उद्यम ब्रह्मोस एयरोस्पेस कम्पनीले आउदो ५ बर्ष देखि लिएर ६ बर्ष भित्रमा उक्त मिसाइल बनाएर तयार भईसक्ने घोषणा गरिएका हुन् ।
’ब्रह्मोस एरोस्पेस हाइपरसोनिक मिसाइल बनाउन सक्षम छ । पाँचदेखि छ वर्षमा हामी हाम्रो पहिलो हाइपरसोनिक क्षेप्यास्त्र ब्रह्मोस द्वारा बनाउन सक्षम हुनेछौं,’ ब्रह्मोस एयरोस्पेसका सीईओ र एमडी अतुल राणेले रजत जयन्ती वर्ष समारोह (१९९८–२०२३) मा बोल्दै भनेका छन् ।
भारतले विश्वको सबैभन्दा राम्रो, छिटो र शक्तिशाली अत्याधुनिक परिशुद्धता स्ट्राइक हतियार ब्रह्मोसको सफल उत्पादनलाई लिएर रजत जयन्ती वर्ष समारोहसँगै सफलता मनाएको छ । भारतको स्वतन्त्रताको ७५ वर्षको साथमा ब्रह्मोस एरोस्पेसले सोमबार ’रजत जयन्ती वर्ष’ (२०२२–२०२३) शुरु गरेको छ । अपराजेय ब्रह्मोसको पहिलो सुपरसोनिक प्रक्षेपणको २१ औँ गौरवशाली वार्षिकोत्सव मनाउन जुन १२ मा शुरु हुने रजत जयन्ती वर्ष समारोह २०२३ को फेब्रुअरी १२ मा ब्रह्मोस स्थापना दिवसमा समापन हुनेछ ।
रजत जयन्ती वर्षको अवसरमा जेभी (जोइन्ट भेन्चर) संस्थाले धेरै प्रमुख कार्यक्रमहरू, बैठकहरू र राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गर्ने योजना बनाएको छ । जसमा जेभीका प्रमुख उद्योग साझेदारहरूले गरेको अमूल्य योगदानलाई सम्मान एवं हाइलाइट गर्नका लागि उद्योग साझेदारहरूको बैठकसमेत समावेश गरिएको छ । यसका साथै देशभित्र मिसाइल निर्माण उद्योग इकोसिस्टमको विकासमा समेत छलफल हुनेछ ।
यसका साथै विश्वको उत्कृष्ट सुपरसोनिक क्रुज मिसाइल प्रणाली सञ्चालन गर्ने भारतीय सशस्त्र बलको योगदान र व्यावसायिकतालाई सम्मान गर्न प्रयोगकर्ता अन्तरक्रिया बैठक हुनेछ ।
मिसाइल टेक्नोलोजीको क्षेत्रमा युवा प्रतिभाहरूलाई उन्मुख गर्ने र अघि बढाउने उद्देश्यले मिसाइल र एयरोस्पेस क्षेत्रमा अत्याधुनिक प्रविधि र यसको प्रयोगसम्बन्धी राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिनेछ ।
भव्य समारोहहरू ब्रह्मोस स्थापना दिवसका अवसरमा सन् २०२३ को फेब्रुअरी १२ मा समाप्त हुनेछ । जसमा महत्त्वपूर्ण कार्यक्रमहरु समावेश रहने छन् ।
रजत जयन्ती वर्ष समारोहको एक भागको रूपमा कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको उचित हिस्सा भारतभर महिला सशक्तिकरण सम्बन्धी कार्यक्रमहरू र परियोजनाहरूमा खर्च गर्ने घोषणा गरेको छ ।
दुई दशकभन्दा बढीको आफ्नो शानदार यात्रामा ब्रह्मोस एयरोस्पेसले धेरै ऐतिहासिक कोसेढुङ्गाहरू हासिल गरेको छ ।
यस महत्वाकांक्षी यात्राको अर्को चरणको लागि पाठ्यक्रम तयार गर्दै जेभीले यूपी डिफेन्स इन्डस्ट्रियल करिडोर (युपीडीआईसी) को भागको रूपमा उत्तर प्रदेशको लखनऊमा आफ्नो नयाँ अत्याधुनिक ब्रह्मोस निर्माण केन्द्रमा काम शुरु गरेको जनाएको छ ।
जुन ३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीडीआईसी अन्तर्गत सबै ठूला औद्योगिक परियोजनाहरूको प्रारम्भ गर्नको लागि एक ग्राउन्ड ब्रेकिंग समारोह आयोजना गरेका थिए । जसअन्तर्गत उच्च उन्नत ब्राह्मोस नेक्स्ट जेनेरेशन (एनजी) हतियार प्रणालीको डिजाइन, विकास र उत्पादन गर्ने फेसिलिटीसमेत रहेको छ ।
ब्रह्मोस एयरोस्पेसले उत्तर प्रदेशमा ३०० करोडको प्रारम्भिक लगानीमा नयाँ निर्माण केन्द्र स्थापना गर्न करिब ८० हेक्टर जमीन प्राप्त गरेको छ ।
कम्पनीले २०२४ को मध्यसम्ममा नयाँ सुविधा स्थलमा सबै उत्पादन सम्बन्धित कार्यहरू पूरा गर्ने योजना बनाएको छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि सुविधाले प्रत्येक वर्ष ८० देखि १०० वटा ब्राह्मोस प्रणालीहरू उत्पादन गर्नेछ ।
ब्राह्मोस एनजी मिसाइलको काम पनि अघि बढेको छ र आगामी तीनदेखि पाँच वर्षमा सिरियल उत्पादनका लागि तयार हुनेछ ।
ब्राह्मोस एनजी निर्माण केन्द्रले भारतको मिसाइल उद्योग कन्सोर्टियमलाई अझ बलियो बनाउने छ र उच्च क्षमताको मिसाइल प्रविधिको लागि रक्षा इकोसिस्टमलाई बलियो बनाउन मद्दत गर्नेछ। यसले भारतलाई विश्वको शीर्ष श्रेणीको रक्षा प्रविधि केन्द्रको रूपमा पनि स्थान दिनेछ ।
सुपरसोनिक क्रुज मिसाइल भारतीय सशस्त्र बलका तीन वटै सेवाहरू (सन् २००५ मा भारतीय नौसेनामा, २००७ मा भारतीय सेनामा र २०२० मा भारतीय वायुसेनामा) सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ । एकपछि अर्को अविश्वसनीय रफ्तार र शानदार सफलता हात पारेपछि विश्व स्तरीय क्षमताको ब्रह्मोस छिमेकी मुलुकमा निर्यात गरिएसँगै भारतको सैन्य निर्यात मोर्चामा पहिलो र प्रमुख हतियार प्रणाली बन्न सफल भएको छ ।
जनवरी २८ मा ब्राह्मोस एरोस्पेसले फिलिपिन्सको नौसेनालाई किनारमा आधारित एन्टी शिप ब्रह्मोस प्रणाली प्रदान गर्न फिलिपिन्स गणतन्त्रसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो ।
’मेक–इन–इन्डिया’ र ’डिजाइन–इन–इन्डिया’ को झण्डा बोकेको ब्रह्मोस एयरोस्पेसले अब ’मेक–फर–द–वर्ल्ड’ मा जाने तयारी गरिरहेको छ । करोडौं डलरको ब्रह्मोस हतियार प्रणाली निर्यात सम्झौताले आगामी केही वर्षहरूमा विश्वमा शीर्ष स्तरीय सैन्य निर्माता र निर्यातकको रूपमा उभिने भारतको आकांक्षाको लागि मार्ग प्रशस्त गरेको छ । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै