काठमाडौं, १३ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्ष भित्र सबै नेपालीको घर घरमा बिजुली सेवा पुग्ने बताए ।
राष्ट्रिय सभा बैठकमा सोमवार विनियोजन विधेयक २०७९ मा मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै उर्जा मन्त्री भुसालले आउँदो दुई वर्षभित्रमा हरेक नेपाली जनताहरको घरघरमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजनालाई कार्यान्वयनमा ल्याउने गृह कार्य भईरहेको बताइन ।
‘आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिनेछ । आफूले जहिले देखि मन्त्रालय सम्हाले पछि मासिक २० युनिट सम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको स्पष्ट पारे ।
देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये करिव २६ लाख ग्राहकले यो सुविधा पाएका छन् । सिंचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशत सम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रुपैयाँ सम्म महसुल कायम गरिएको छ भने विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न गार्हस्थ्य वर्गको विद्युत् महसुल कम गरिएको उनले भने ।
खानेपानी र सिँचाइमा डिमान्ड शुल्क हटाइएको छ । खानेपानी तर्फ इनर्जी शुल्क झन्डै ५० प्रतिशतले घटाइएको, धेरैजासो वस्तु तथा सेवाको मूल्यवृद्धि भइरहेको अवस्थामा विद्युतको क्षेत्रमा विगत दुई वर्षमा दुई पटक गरी २० प्रतिशत विद्युत् महसुल घटाइएको जानकारी गराए ।’
मन्त्री भुसालले आउँदो आर्थिक वर्षदेखि हरेक वर्ष झन्डै सात सय देखि एक हजार मेगावाट बिजुली नेपालको विद्युत् प्रणालीमा थपिँदै जाने बताए ।