काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आउन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनु भएको छ ।
पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । स्थानीय तहको निर्वाचनमा पार्टीले २८ प्रतिशत स्थानमा उम्मेदवार खडा गर्दा ९ लाख मत प्राप्त भएको कुरा उल्लेख गरे । उनले भने “हामीले पालिका चुनावमा २८ प्रतिशत उम्मेदवार खडा गर्दा ९ लाख मत प्राप्त गर्यौ तर यदी सबै ठाँउमा उम्मेदवार खडा गरेको भए यो भन्दा दोब्बर, तब्बर मत प्राप्त हुन सक्थ्यो । कम्तीइमा २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरु सुनिश्चित हुने बताउदै प्रत्यक्ष रुपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हासिल गर्न सक्दथ्यौं ।”
अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा जोड दिए ।
विश्वका शक्ति राष्ट्रहरूका बीचमा द्वन्दका खतरा देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने स्पष्ट पार्दै नेपाली नागरिकमा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्ति राष्ट्रहरूको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने तर्क दिए । देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त नागरिकलाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको बताए ।