रौतहट, १५ असार । लगातारको बर्षापछि रौतहटको प्रमुख नदी बागमती, लालबकैया, झाझ, चाँदी लगायतको खोलानालाहरुमा बाढीको उच्च जोखिम बढेका छन् ।
चुरे तथा पहाडी क्षेत्रमा मनसुन सक्रिय भई लगातार रुपमा भईरहेको बर्षाबाट वागमती, लालबकैया सहितको नदीमा पानीको सतह निकै बढेर गएको छ, पानीको सतह निके बढेपछि तटिय क्षेत्रमा बाढीको उच्च जोखिम बढेपछि स्थानीय प्रशासनले जनहितमा सूचना जारी गरेर खाला किनारमा नजान आग्रह गरेका हुन् ।
पहाडी एवं चुरे रेन्जको साथै समथर भु भागमा तिव्ररुपमा निरन्तर भईरहेको बर्षाबाट रौतहट र सर्लाही जिल्लामा बाढीको उच्च जोखिम बढेपछि स्थानीय प्रशासनले सजग एवं सतर्क भएर बस्न अपिल जारी गर्नुका साथै बाढी र डुवानबाट हुने सम्भावित खतरालाई मध्यनजर राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका पौडिबाजको साथै विपद उद्धारमा खटिने टोलीलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको हाईअलर्ट अनुसार बुधवार दिउसो ३ बजे बागमतीको राई गाउँ, कर्मैया (पधेरादभान) बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको हुँदा नदीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको हुँदा रौतहट र सर्लाहको नदी किनार र डुबान भईरहने होचा स्थानमा नजान सुचना जारी गरेका छन् ।
यता वागमती सिंचाई आयोजना कर्मैया ब्याराजको ३६ वटै ढोका खोलिएको हुँदा तल्लो क्षेत्रमा बाढीको प्रवल सम्भाना रहदा बाढी एवं डुवान क्षेत्रबाट टाढा रहन निरन्तर रुपमा स्थानीय प्रशासनले विभिन्न युनिटहरु मार्फत सजग गराईरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
वागमती नदीले माधवनारायण, दुर्गा भगवती र राजदेवीमा कटान तिव्र
लगातारको वर्षापछि वाग्मती नदीमा आएको बाढी पश्चिमी बाँध नजिक धार परिवर्तन गरेर कटान सुरु गरेको छ ।
माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउापालिका र राजदेवी नगरपालिकाको खेती योग्य जग्गाहरु वागमती नदीले तिव्र रुपमा कटान गरिरहदा स्थानीय प्रशासनले कटान रोक्न यथोचित कदम उठाउन स्थानीय तहका पदाधिकारीहरु संग आपतकालिन बैठक बोलाएर उक्त कार्यमा जुट्न आग्रह गरेको हो ।
हिउद याममा स्थानीय तहले उत्खननको निहुँमा जथाभावी रुपम खोला दोहन गराएको हुँदा सामान्य बाढी आउदा नदीले धार परिर्तन गरी जग्गा कटान सुरु गरेकोमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले चिन्ता व्यक्त गरे ।
उच्च पहाडी र चुरे क्षेत्रमा पानी पर्ने क्रम जारी छ, वागमती र बकैया नदीमा बाढीको पानीको सतह उच्च रहेको छ । वाग्मतीको पश्चिमी क्षेत्रमा भारत सरकारले ड्याम बनाए पनि बाढीको गति तीव्र भएकाले ड्यामलाई समेत असर पुग्ने छाँट देखिएको प्रजिअ शाहीले बताए । लगातारको वर्षापछि अहिले वाग्मतीमा पानीको सतह बढेको छ ।
कटान भईरहेका क्षेत्रमा मंगलवार प्रमुख जिल्ला अधिकारी शाही सहित सुरक्षा निकायका अधिकारीहरु संगै नव निर्वाचित जनप्रतिनिधिहरुको टोलीले वागमती र लालबकैया नदीले गरिरहेको कटान एवं सम्भावित कटान हुने क्षेत्रको स्थलगत रुपमा निरीक्षण गरेका छन् ।
आन्तरिक श्रोत बढाउने बहानामा स्थानीय तहले मापदण्ड विपरित जथाभावी रुपमा उत्खनन गरी चरम दोहन गरेको हुँदा सर्लाहीको सीमाना भएर बग्ने बागमती नदी अहिले धार परिवर्तन गरी रौतहटतर्फ कटान सुरु गरेको स्थानीयहरुले गम्भीर आरोप लगाए ।
गत वर्ष वाग्मती र लालबकैया नदीछेउको स्परलगायत जमिन कटानमा परेपछि वरपरका बस्ति जोखिममा परेका थिए । यस वर्ष पनि यस्तै समस्या हुने चिन्ताले स्थानीय बासिहरुलाई सताएको छ ।