रामेछाप, २१ असार । रामेछापको लुभुघाटमा यात्रुबाहक बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो ।
घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई हेलिकप्टर बाट उपचारको लागि काठमाडौं लगिएको छ ।
उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरी खतिवडाले जानकारी दिए । अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।
घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
घटनास्थलमा मृत्यु हुनेमा सुनापति गाउँपालिकाका समरिता तामाङ, ठूला तमाङ, खडक विक, कमला तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदीप गजमेर रहेका छन् । अरु २ जनाको सनाखत हुन बाँकी छ ।