काठमाडौं, २८ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार भेटवार्ता भएको छ ।
सीपीसीका नेता चाओ र एमाले अध्यक्ष ओली विच बालकोट स्थित निवासमा भेट वार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओली निवास बालकोटले जनाएको छ ।
नेपालको चार दिने भ्रमणको शिलशिलामा जियानचाओ आइतबार काठमाडौं आएका थिए । काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का सँग भेटवार्ता गरे, उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
यसैविच सीपीसीका नेता चाओले होटल एभरेष्टमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संग मंगलवार दिउसो ४ बजे भेटघाट गरेको श्रोतले बतायो । भेटको क्रममा के के विषयमा छलफल भयो बारे खुलाइएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारी सँग पनि भेटघाट गरी चिनियाँ टोली बुधबार स्वदेश फर्किने छ ।