कोलम्बो, २९ असार । श्रीलंकाली राष्ट्रपति गोताबाय राजापाक्ष मध्यरातमा देश छाडेर भागेका छन् । उनी सैनिक जेट चढेर माल्दिभ्स पुगेका छन् । स्थानीय समयअनुसार राति ३ बजे उनी माले बिमानस्थलमा उत्रेको समाचार छ ।
राजापाक्षको पलायनले श्रीलंकाको सत्तामा दशकौंदेखि रहेका पारिवारिक वंशवादको अन्त्य भएको छ । शनिबार ठूलो जनसमुदायले राष्ट्रपति भवन कब्जा गरेयता उनी लुकेर बसिरहेका थिए ।
राजापाक्ष मंगलबार नै दुबई उड्न खोजेको तर विमानस्थलका अध्यागमन कर्मचारीले रोकिदिएको समाचार बाहिरिएको थियो ।
श्रीलंकाली सत्तामा दुई दशक हालिमुहाली गरेको राजापक्ष परिवारले मुलुकलाई इतिहासकै खराब आर्थिक संकटको अवस्थामा पुर्याएको छ । सबै सदस्य महत्त्वपूर्ण पदमा रहेको राजापाक्ष परिवारले झन्डै ५ अर्ब अमेरिकी डलर विदेशी बैंकमा जम्मा गरेका खबर पनि सार्वजनिक भएका छन् ।
गोताबायका भाइ तथा पूर्व अर्थमन्त्री बासिल राजापाक्ष पनि भागेका छन् । उनी चाहिँ अमेरिका हान्निएको खबर छ । राष्ट्रपति भागेसँगै श्रीलंकाली जनताले उत्सव मनाइरहेको बताइएको छ ।
राष्ट्रपतिबाट राजीनामा दिए पक्राउ पर्नसक्ने भएकाले उनी राजीनामा नदिई भागेका हुन् । उनले आज बुधबार राजीनामा दिने आश्वासन दिएका थिए । श्रीलंकाको कानुन अनुसार पदमा बहाल रहेको राष्ट्रपतिलाई पक्राउ र अभियोजन गर्न मिल्दैन ।