रौतहट, ३ फागुन । नेपाली काँग्रेसद्धारा रौतहट सदरमुकाम गौरमा वृहद जनप्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संघिय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्दै गएको, जनअधिकार माथि कुठाराघात गरी अधिनायक बादको सृजना गरिएकोमा उक्त कदम तत्काल सच्याउन नत्र ठूलो दुर्घटनामा पर्न सक्ने चेतावनी दिदै नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटद्धारा गौरमा सोमवार वृहद जनप्रदर्शन गरिएका हुन् ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद यादवको नेतृत्वमा निस्किएको वृहद जनप्रदर्शनमा विघटिन प्रतिनिधि सभाका साँसद देवप्रसाद तिमलसिना, प्रदेश साँसद धनलाल ठोकर, शेख राशिद अली, ८ वटा स्थानीय तहको प्रमुखहरुमा गढीमाईको श्यामप्रसाद यादव, वृन्दावनको रामस्नेही यादव, फतुवा विजयपुरको गोपाल यादव, राजदेवीको धिरेन्द्र सिंह, परोहाको शेख वकिल, राजपुरको शेख सकिल, दुर्गा भगवतीको अरुण साह, महासमिति सदस्यहरुमा श्यामचन्द्र झा, सन्तलाल साह, देवचन्द्र मिश्र, युवा नेता एवं समाजसेवी मोहन यादव, गौर नपा १ को अध्यक्ष भरत साह महाधिवेशन प्रतिनिधि सहित सर्यौ नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्का नाराबाजी गर्दै प्रतिगामी कदम नसच्याए मुुलुकमा ठूलो रक्तपात हुने चेतावनी दिए ।
गौरको चर्चित राइस मिल्सको मैदानबाट सुरु भएको वृहद जनप्रदर्शन नगरप्ररिक्रममा पश्चात स्थानिय विपी चोकमा पुगेर कोर्ण सभामा परिणत भएका थिए । कोर्ण सभालाई सभापति कृष्णप्रसाद यादव, निवर्तमान साँसद तिमलसिना लगायतका नेताहरुले सम्बोधन गरेको थियो ।