काठमाडौं, ९ साउन । संघिय राजधानी काठमाडौंको तीनकुने स्थित गैरी गाउँमा चिनियाँ नागरिकले अबैध तवरबाट संचालन गरिरहेका एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
विशेष सुचनाको आधारमा अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले सोमबार तिनकुने स्थित गैरी गाउँमा अबैध रुपबाट चिनियाँ नागरिकले संचालन गरेका कल सेन्टरमा छापा मारेर चिनियाँ नागरिक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गैरी गाउँमा रहेका व्यवसायी सुरज वैद्यको घर भाडामा लिएर चिनियाँ नागरिकले कल सेन्टर चलाइरहेका थिए । तर प्रहरी टोली त्यो घरमा पुगेको पहिलो पटक भने होइन । समाचार श्रोतका अनुसार गत ६ महिना अघि कल सेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारी बीच विवाद हुँदा प्रहरी पुगेको थियो ।
विशेष श्रोतका अनुसार “सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगे पछि सबैको मोबाइल जफत गरे”, “सञ्चालकले मोवाइल खोसेपछि कर्मचारी र सञ्चालनबीच झगडा भएको थियो” विवाद बढेपछि प्रहरीलाई पनि त्यहाँ बोलाइएको थियो ।
त्यो वेला प्रहरीले छलफल गरेर छाडेको थियो । आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि प्रहरीले छापा हानेको छ । छापा हान्ने क्रममा त्यहाँ कार्यरत ७ जना महिला कर्मचारीहरुले प्रहरीको सर्च अपरेशनमा अवरोध गर्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
छापा मारेपछि प्रहरीले अनुसन्धान कार्य तिव्र बनाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।
२०७६ पुस ७ गते पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको हाल सम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही थियो ।