नागरिकताको विषय उठाएर सधै तराई मधेश बदनाम हुँदै आएपनि यस्तोको बास्तविक्ता भिन्दै रहेको पाइएको छ । हुनत तराई मधेशमा बसोबास गर्नेहरुलाई जन्मको आधारमा नागरिकता दिइने प्रावधान ल्याइएपनि पहाड हिमालीमा बसोबास गर्नेहरुलाई नागरिकताको निकै समस्या रहेको थियो जुन नागरिकता विधेयक सदनबाट पारित भएको छ यसबाट तराई मधेशको भन्दा बढि हिमाल पहाडको बासिन्दाहरुलाई बढि फायदा पुग्ने विश्वास लिइएको छ ।
२०४६ चैत मसान्त सम्म नेपालमा जन्म भई यहीं स्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिलाई जन्मका आधारमा नागरिकता प्रदान गर्न सरकारले २०६३ मा कानुन बनाएको थियो । यो कानुन अनुसार १ लाख ९० हजार ७ सय २६ जनाले नागरिकता पाएको गृह मन्त्रालयको अभिलेख छ ।
जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन नयाँ संविधानले प्रावधान राखेको छ, तर त्यस अनुसार कानुन नबन्दा उनीहरू सबैका सन्तानले नागरिकता पाएका छैनन । त्यही कारण उनीहरू उच्च शिक्षा, रोजगारी, चालक अनुमतिपत्र र राहदानीको हकबाट वञ्चित रहदै आएका छन् ।
जन्मसिद्ध नागरिकता सबैभन्दा बढी झापाका बासिन्दाले पाएका थिए । यहाँ २६ हजार ४ सय ३० जनालाई जन्मसिद्ध नागरिकता प्राप्त गरेको थियो । यो त्यस्तो नागरिकता पाउनेको कुल संख्याको १३.८५ प्रतिशत रहेको छ । मधेस प्रदेशका जिल्लामा भन्दा बढी जन्मसिद्ध नागरिकता प्रदेश १ का मोरङमा २२ हजार ७ सय ४३ जना, सुनसरीमा २१ हजार ५ सय ६७ जना र लुम्बिनीको रूपन्देहीमा १५ हजार २९ जनालाई प्रदान गरिएको थियो ।
मधेस प्रदेशमा सबैभन्दा बढी पर्सामा १५ हजार १७ जनाले जन्मका आधारमा नागरिकता लिएका थिए । त्यसपछि धनुषामा १३ हजार ८ सय १ जना, सर्लाहीमा ११ हजार १ सय ४४ जना, महोत्तरीमा ५ हजार ७ सय ९४ जनाले त्यस्तो नागरिकता पाए । जन्मका आधारमा नागरिकता पाउने सिरहामा ५ हजार ३ सय ४६ र रौतहटमा ४ हजार ३ सय ५२ जना रहेको थियो ।
प्रदेशगत रूपमा भने सबैभन्दा बढी जन्मसिद्ध नागरिक तराई मधेसमा रहेका छन । त्यहाँका ७४ हजार ३९ जनाले जन्मका आधारमा नागरिकता लिएका हुन । प्रदेश १ मा ७१ हजार ३६, वाग्मतीमा १ हजार ६ सय ३४, गण्डकीमा ५ सय ५२, लुम्बिनीमा ४२ हजार ५ सय ६५, कर्णालीमा ४९ र सुदूरपश्चिममा ८ सय ५१ जना जन्मसिद्ध नागरिक छन । वाग्मतीमा सबैभन्दा बढी चितवनमा १ हजार १ सय ६२ जनाले जन्मका आधारमा नागरिकता पाएका छन । त्यसपछि मकवानपुरमा ४ सय ५, दोलखामा ७, रामेछापमा ३, सिन्धुलीमा २१, सिन्धुपाल्चोकमा १२, रसुवामा ८, ललितपुरमा १६ जनाले जन्मसिद्ध नागरिकता लिएका छन ।
गण्डकी प्रदेशमा ७ जिल्लाका ५ सय ५२ जनाले जन्मसिद्ध नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।
कास्कीमा सबैभन्दा बढी ४ सय ६० जना, लमजुङमा ५३, गोरखामा १२, स्याङ्जामा १२, तनहुँमा ८, बागलुङमा ३ र पर्वतमा २ जनाले त्यस्तो नागरिकता लिए । लुम्बिनीमा रूपन्देहीमा १५ हजार २९, पश्चिम नवलपरासीमा १२ हजार ५९ र बाँकेमा ७ हजार ४ सय ५४ जनाले जन्मसिद्ध नागरिकता पाए । कर्णाली प्रदेशमा भने सबैभन्दा कम ४९ जना मात्रै त्यस्ता नागरिक छ । प्रदेशभरमा ८ सय ५१ जनाले जन्मसिद्ध नागरिकता लिएको सुदूरपश्चिममा कञ्चनपुरका सबैभन्दा बढी ६ सय ५३ जना छन ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संघीय संसद्बाट विधेयक पारित भएपछि जन्मसिद्धका करिब ५ लाख सन्तान लाभान्वित हुन सक्ने बताए । ‘देशैभरि १ लाख ९० हजारले जन्मसिद्ध नागरिकता पाए पनि एउटै घरका श्रीमान–श्रीमती पनि भएकाले उनीहरूका सन्तान बढीमा ५ लाख रहेको अनुमान छ । नागरिकता नभएर उनीहरू सरकारी सुविधा उपभोग गर्न वञ्चित हुनुपरेको छ । अब समस्या समाधान हुने अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।
सरकारले लामो माथापच्ची गरेपछि नागरिकता सम्बन्धी कानुनलाई टुंग्याउन लागेको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफल पछि प्रतिवेदनसहित सदनमा पेस गरेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएर सरकारले संसदमा दर्ता गरेको अर्को विधेयक ‘फास्ट ट्र्याक’ मा पारित हुने प्रक्रियामा छ । गत वर्ष केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश ल्याएर पनि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन खोजेको थियो तर सर्वोच्च अदालतमा रोकिदिएपछि अध्यादेश कार्यान्वयन हुन सकेन ।
कांग्रेस सांसद डिला संग्रौलाले विधेयक अघि बढेपछि नागरिकता विहीनमा सुन्दर भविष्यको आशा पलाएको बताए । ‘यो समस्या मधेसको मात्रै थिएन । हिमाल र पहाडमा पनि नागरिकता विहीन थिए । कानुन बनेपछि सबैले सुविधा उपभोग गर्न सक्नेछन्,’ उनले भनिन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य एवं एमाले सांसद विजय सुब्बाले जन्मसिद्ध नागरिकता पाइसकेकाको सन्तानलाई नागरिकता दिने विषयमा आफ्नो पार्टीको सहमति रहेको बताए । ‘जन्मका आधारमा नागरिकता पाएकाका सन्तानले भागेको समस्या हामीले देखेका छौं । उनीहरूलाई नागरिकता दिने विषयमा हाम्रो विमति थिएन,’ उनले भने ।