रौतहट, १२ साउन । अगामी पाँच बर्ष सम्मको लागि भारत संग मलखाद्य खरिद गर्न सम्झौता भएको छ ।
नेपाली किसानहरुको पिडा मर्कालाई मध्यनजर राख्दै नेपालले अगामी ५ वर्ष सम्मका लागि भारत सँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको हो । सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५÷२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।
गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मलखरिद गर्ने सम्झौता भएका छन् ।
अगामी आर्थिक वर्ष ०८३÷८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । सम्झौता अनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिर सम्म नेपाल भित्री सक्ने कार्कीले बताए । साउन १ मा दुई कम्पनी बीच मल खरिदका लागि सम्झौता भएको छ, कार्कीले भने, सम्झौता ढिलो भएका कारण दोस्रो वर्ष अनुसार १ लाख १० हजार मेट्रिकटन युरिया र ६० हजार मेट्रिकटन डिएपी मल ल्याइने छ ।’
भारतीय कम्पनीले नेपाली कम्पनीकै नाममा बोरामा प्याकिङ सहित मल नाकामा बुझाउने सम्झौतामा उल्लेख छ । मलको ढुवानी गोदाम बिराटनगर, भैरहवा र वीरगन्ज नाका तोकिएको कार्कीले बताए ।