साढे २४ लाखको १४ थान राडो घडी सहित युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिए

   ५ फाल्गुन २०७७, बुधबार १४:०६  

रौतहट, ५ फागुन । सिमापारी भारतबाट चोर नाका भएर अबैध रुपमा भित्रयाउदै गरेको बहुमूल्य विदेशी घडी सहित एक जना युवकलाई सशस्त्र प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको छ ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ स्थित नेपाल भारत सिमावर्ती क्षेत्रको चोर नाका भएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा सिमामा तैनाथ सशस्त्र प्रहरी बलको रामपुर खापको टोलीले चेकजाँच गर्ने क्रममा १४ थान स्वीस मेड भएको राडो कम्पनीको बहुमूल्य घडी सहित गौर नगरपालिका ५ पोखरिया टोल घर भएको १८ बर्षिय युवक निजामुद्दिन खानलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण रौतहटले जनाएको हो ।


ना.३९ प. ६७८३ नम्वरको मोटरसाइकल चोर नाका भएर नेपाल प्रवेश गर्दै गरेको समयमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनले राखेको झोला भित्र बहुमुल्य १४ थान राडो घडी सहित नियन्त्रणमा लिएको जानकारी दिदै सशस्त्र प्रहरीको एसपी सुर्य सेन वलीले २४ लाख ६३ हजार ३० सय मुल्य बराबरको उक्त घडी र ८५ हजार मुल्यको मोटरसाइकल सहित साढे २५ लाखको मूल्याँकन गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई बुझाएको बताए ।
नियन्त्रणमा लिइएका युवक खानलाई भारत विहार पुर्वी चम्पारण जिल्लाको घोडासहानको एक जना व्यक्तिले ३ हजार रुपैयामा नेपाल पुर्याउन दिएको सामान लिएर आउदा सशस्त्र प्रहरीले समात्न सफल भएको एसपी वलीले बताउदै सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानीको कारण अवैध कारोवार गर्नेहरुलाई निरुत्साहित गर्ने कार्यमा निकै सफलता पाएको उनले विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै