जनकपुरधाम, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेका सरयू–कमला एक्सप्रेस मंगलवार जनकपुरधाम आईपुगेको छ ।
प्रधानमन्त्री शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा शुभारम्भ गरिएको अयोध्याधाम–जनकपुरधाम रेल सेवा आज माता जानकीको नगरी जनकपुरधाम आउदा भव्य रुपमा स्वागत गरिएको हो । सोमबार भारतको हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर शुभारम्भ गरेका उक्त रेलमा धार्मिक यात्रुलाई लिएर भगवान् रामको जन्मभूमि अयोध्याबाट गुडेर आज माता जानकीको जन्मभूमि जनकपुरधाम आइपुगे ।
रेलमार्फत जनकपुरधाम आइपुगेका यात्रुहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय श्रममन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, स्थानीय प्रशासन तथा जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीलगायतले स्वागत गरेका थिए । धार्मिक यात्रामा आएका श्रद्धालुहरूको स्वागतमा बटुकहरूले स्वस्तिवाचन समेत गर्दै जनकपुरधाममा भव्य स्वागत गरियो ।
सातामा एक दिन सञ्चालन हुने यस रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको श्रममन्त्री रामजी यादवले बताए ।
सदियौं देखिको राम–जानकीको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्दै अयोध्या र जनकपुरधाम बीचमा रेल सेवा सुरु हुनु दुवै देशको साझा इतिहास, संस्कृति र जनस्तरको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउनमा महत्वपूर्ण उपलब्धि भएको उनले भने ।
जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनका लागि यो रेल सेवा थप सहज र सुविधाजनक हुने बताइएको छ ।