रौतहट, ९ मंसिर । प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर जस्ता माग गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित देशव्यापी आन्दोलन अन्तर्गत बुधबार रौतहटका पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
सरकारको नीतिबाट सञ्चार माध्यमप्रति भइरहेको अनुचित व्यवहार, पत्रकारमाथि हुने आक्रमण तथा धरपकड, प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप र श्रम अधिकारको उलंघन विरुद्ध पत्रकारहरू आन्दोलनमा उत्रिन बाध्य भए ।
प्रदर्शनका क्रममा पत्रकारहरूले सञ्चार माध्यम माथि आर्थिक नाकाबन्दी गर्ने, लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने, श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने तथा सञ्चारगृहमा अवरोध सिर्जना गर्ने गतिविधि तत्काल रोक्न माग गरे ।
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको भन्दै महासंघले पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्कीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।

