जनकपुरधाम, ९ मंसिर । मर्यादापुरुषोत्तम रामको जन्मभुमि अयोध्याधाम र माता जानकीको नगरी जनकपुरधामलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा आउदो सोमबार देखि नियमित सञ्चालनमा आउने भएको छ ।
यो निर्णय सँगै दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई रेलमार्गबाट आवतजावत गर्न निकै सहज हुने अपेक्षा गरिएको हो ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले आगामी सातादेखि नियमित रेल सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यस रेल सेवाले जनकपुरधामलाई भारतको धार्मिक पर्यटन सञ्जालसँग जोड्नुका साथै दुई देशका धार्मिक नगरी बीचको आवागमनलाई थप सहज बनाउन मद्दत पुग्ने छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उदघाटन गरेका थिए । उदघाटनपछि अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न स्टेसन हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको थियो ।
करिब ६०४ किलोमिटर दूरी पार गर्दै नेपाल आइपुगेको रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन भएको थियो । मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगर लगायतका स्टेसन पार गर्दै रेल जनकपुरधाम पुगेका थिए ।
१७ वटा बोगी रहेको उक्त रेलमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् ।
धार्मिक पर्यटनको अवसर, स्थानीय अर्थतन्त्रमा लाभ पुर्याउने चुनौती
अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन सँगै धार्मिक पर्यटन विस्तार र दुई देशबीचको धार्मिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । तर, रेल सेवा सुरु हुँदैमा त्यसको प्रत्यक्ष आर्थिक लाभ स्थानीय व्यवसायी र समुदाय सम्म पुग्ने सुनिश्चितता भने छैन ।
त्यसका लागि धार्मिक तथा पर्यटकीय स्थलको प्रभावकारी प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास, सहज यातायात व्यवस्था र व्यवस्थित भ्रमण प्याकेज निर्माणमा ध्यान दिन आवश्यक छ ।
सरयू–कमला एक्सप्रेस रेल सेवा जनकपुरधामका लागि धार्मिक पर्यटक भित्रर्याउने नयाँ माध्यम बन्न सक्ने भए पनि त्यसलाई स्थानीय रोजगारी, व्यापार र आर्थिक गतिविधिसँग जोड्नु अहिलेको मुख्य आवश्यकता देखिएको छ ।