रौतहट, ९ मंसिर । रौतहट जिल्लामा महिला सशक्तीकरण, योग तथा स्वास्थ्य जागरण अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले महिला पतञ्जलि योग समिति रौतहट गठन गरिएको छ ।
समितिको अध्यक्षमा अर्चना केसरी चयन भएकी हुन् । कोषाध्यक्षमा राधा अग्रवाल र महामन्त्री रजनी अग्रवाल चयन भईन ।
नवगठित समितिले चाँडै पूर्ण आकार लिएर जिल्लामा महिलाहरूलाई योग अभ्यासप्रति आकर्षित गर्दै स्वस्थ जीवनशैली, शारीरिक तथा मानसिक स्वास्थ्य, आध्यात्मिक चेतना र सामाजिक सद्भाव अभिवृद्धिका लागि काम गर्ने अपेक्षा लिएको नवगठित समितिका अध्यक्ष केसरीले बताइन् ।
गौर नगरपालिका–१ स्थित रामजानकी धर्मशालामा बुधवार आयोजित विशेष योग सत्संग तथा स्वागत समारोहका बीच नयाँ कार्यसमिति गठन गरियो ।
कार्यक्रममा महिला पतञ्जलि योग समितिकी मुख्य केन्द्रीय प्रभारी साध्वी देवादितीको भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्लाका योग साधक, योगप्रेमी, योग शुभेच्छुक तथा योगगुरुहरूको उल्लेख्य उपस्थितिमा साध्वी देवादितीले योग, स्वास्थ्य, अनुशासन र आध्यात्मिक जीवनको महत्वबारे प्रवचन दिइन ।
उक्त योग सत्संग कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, वडा नम्बर १ का अध्यक्ष लालबाबु चौधरी, वडा नम्बर ५ का अध्यक्ष शिवशंकर प्रसाद यादव तथा इस्कोन गौर मन्दिरका ब्रह्मचारी प्रेम हरिनाम प्रभुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेश पतञ्जलि योग समितिका सदस्य अर्जुन तिमिल्सिना सहित केन्द्रीय महिला पतञ्जलि योग समितिका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेका थिए । उपस्थित सहभागीहरूले नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सुख, शान्ति, समृद्धि र आपसी सौहार्दपूर्ण वातावरणमा सफल रहोस् भन्ने कामना गरेका थिए ।
