स्थानीय तहको फितलो विपद व्यवस्थापन, समयमा दमकल पुग्न नसक्दा विष्णु गापाको एक बस्ती जलेर सखाप

   २६ बैशाख २०८१, बुधबार १४:४७  

फाइल फोटो
राधेश्याम कुशवाहा
विपद सम्बन्धी स्थानीय तहको फितलो तयारीको करण अहिले सुख्खा मौसममा आगलागि हुँदा समयमा अग्निनियन्त्रक दमकल पुग्न नसक्दा सर्लाही विष्णु गाउँपालिकामा एक बस्ती जलेर सखाप भए ।
खास गरेर दक्षिणी पश्चिमी क्षेत्रमा भारतीय सिमासंग जोडिएको बिष्णु गाउँपालिकाको एक टोलमा आगलागी हुदाँ दमकल सहित विपद व्यवस्थापन समितिको टोली समयमा घटनास्थलमा नपुग्दा पुरै बस्ती नै जलेर सखाप भएको हो ।
बिष्णु गाउँपालिका वडा नम्वर १ बाराउधोरण गाउँ स्थित गुलेरिया टोलमा रहेका बस्तीमा आगो लाग्दा जलेर खरानी हुदा करिव तीन सय भन्दा बढी परिवार सडकमा खुलाअकाश मुनी बस्नु परेको बाध्यता सृजना भएका छन ।
आगलागिबाट घरमा भएभरका खाद्यान्न सामग्री, लत्ताकपडा, भाडावर्तन, नगद, गरगहना, आवश्यक कागजपत्र, सवारी साधन लगायत भौतिक सम्पत्तीहरु जलेर खरानी हुदाँ उनिहरु अहिले घरबार विहिन भई शरणार्थी सरह दाताहरुले दिएको त्रिपाल मुनि बस्न बाध्य हुन पुगेको छ ।
स्थानीय शत्रुधन राउतको घरमा राखिएको खाना पकाउने ग्यास सिलिण्डर पड्कीएर सुरु भएको आगलागी समयमा नियन्त्रण हुन नसक्दा उक्त बस्तीका ५७ वटा घरमा पुर्ण रुपमा र ४ वटा आशिंक रुपमा गरी जम्मा ६१ वटा घर जलेका गुलेरिया टोल अहिले खण्डहरमा परिणत हुन पुगेका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिका टोली समयमा घटनास्थलमा नपुग्दा सुख्खा मौसम र तिब्र गतिको हावाको प्रभावले आगलागी स्थानिय प्रशासन र सर्वसाधरणको नियन्त्रण बाहिर गएर ठुलो क्षति भएको बताइएको छ । आगलागीमा परेर २ करोड १३ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले तथ्यांकमा उल्लेख छ ।
आगो कसरी सल्कियो
अन्दाजी डेढ बजेको समयमा शत्रुधन राउतको बुहारी नितु राउतले नास्ता पकाउदै गर्दा ग्यास चुल्होबाट आगो सल्किएर सिलिण्डरमा लागेका थिए ।  बुहारी नितुका अनुसार भुजिया बनाउन ग्यास चुल्होमा कराही राखेर नजिकै रहेको चापाकलबाट पानी ल्याएर फर्किदा सिलिण्डरमा आगो लागिसकेका थिए, आगो निभाउन जति कराए पनि कोही नआएपछि आफू पनि ज्यान जोगाउन घरबाट निस्केको ५ मिनेटमै ग्यास सिलिण्डर विस्फोट भयो र आगो चारैतिर फैलियो । आगलागीमा परेर मेरो दुई तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको उनले आफनो पिडा यसरी सुनाइन ।
आगलागीबाट घरमा भएका खाधान्न, लत्ताकपडा नगद सहित सारा सामग्री जलेर खरानी हुन पुगेको आगलागी पिडित सिता देवीले देखेसो पोखिन । घरमा एकाएक तिब्र गतिमा आगो लाग्न सुरु हुदाँ ज्यान जोगाउन सुतिरहेका नातिलाई लिएर बाहिर भागे तर जिउमा लगाएको कपडा बाहेक अरु सामग्री निकाल्न सकिन्न, उहाँले भनिन । उनले साहूलाई तिर्न छोराले भारतबाट पठाएको २ लाख नगद समेत आगोमै जलेर खरानी भएको घरीघरी रुने र अचेत हुने गरेकी छिन ।
गाउँमा आगलागी हुदाँ घरमा खाना पकाउन राखिएका दजनौं सिलिण्डर विस्फोटक भएको स्थानिय प्रत्यक्षदर्शी पुनम देवीले बताईन ।
पश्चिमा वायूले आगो तिब्र गतिमा पुरै बस्तीमा फैलिएर नियन्त्रण बाहिर गएको गएको थियो, उहाँले भनिन । तर पुरै बस्ती घण्टौं सम्म जलेर खरानी भइरहदा पनि दमकल समयमा घटना स्थलमा नआइपुेको उनले आक्रोश पोखिन ।
पारिको दमकल नजिकै भारतीय सिमामा आइसकेपनि नेपाली सुरक्षाकर्मीले नेपालमा आउन नदिएको र नेपाली दमकल घटना स्थलमा ढिलो आएका कारण आगलागीबाट ठुलो भौतिक सम्पतीको क्षति भएको गुनासो गरिन ।
४ घण्टा सम्म आगोले ताण्डव गरेपछि मात्र जिल्लाबाट दमकल सहित विपद व्यवस्थापनको टोलि घटनास्थलमा आइपुगेको अर्का स्थानिय प्रत्यक्षदर्शी विरेन्द्र राउत बताउँछन । जबसम्म सबै घर, अन्नपानी जलेर खरानी भइसेको थिए, उनले भने । स्थानिय सर्वसाधरणले आगो बुझाउन खोज्दा सुख्खा भएका कारण पानी समेत नपाएको, भएभरको खाल्डो र चपाकलको साहारामा आगो बझाउने काम गरियो ।
दाताहरु के गर्दैछन् ?
बिष्णु गाउँपालिकाले आफनै लागतमा आगलागीबाट प्रभावित भएका ३ सय भन्दा बढी परिवारलाई निशूल्क खाना खुवाइरहेका रहेका छन । प्रभावित भएका परिवारले आफनै खाना बनाउन सक्षम नभएरसम्म स्थानिय तहबाट खाना खुवाउने कार्य निरन्तरता दिईने बताइएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीको क्लष्टर अनुसार स्थानिय तहले दमकल किन्नुपर्ने कार्यविधि पारितको विषयमा बैठक बोलाउदा बिष्णु गाउँपालिककै अध्यक्ष जवाहर यादवले बारुण यन्त्रलाई सेतो हाथीको संज्ञा दिदै पालना गर्न नसकिने बताएदै विरोध जनाएका थिए ।
किन किनिएन बारुण यन्त्र ?
बारुण यन्त्र किन्नुपर्छ भनेर कार्यविधि जिल्ला विपद व्यवस्थापन समिति, सर्लाहीमा पारित भएपनि कार्यन्वयनमा आउन नसक्दा बिष्णु गाउँपालिकाको आगलागीमा समयमा बारुण नपुग्दा ठुलो क्षति हुन पुग्यो । क्लष्टर बनाएर ५ वटा स्थानिय तहको लगानी र खर्चमा बारुण यन्त्र संचालन गर्नुपर्ने कार्यविधि विपद व्यवस्थापन समितिले पास गरेपनि कार्यान्वयनमा आउन नसकेको विषयमा बिष्णु अध्यक्ष जवाहर यादवसंग सोध्दा यो प्रश्न जिल्ला समन्वय समितिमा गएर सोध्नु भनी गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।
बारुण यन्त्र किन्ने विषयमा जिससले आफूसंग कुनै सहकार्य नगरेको र उनिहरुले आफुखुशि कार्यविधि पास गरेको उनको भनाई छ । विपदबाट पाठ सिक्दै आगामी दिनहरुमा पनि बारुण यन्त्र किन्ने बिषयमा छलफल अथवा सहकार्य भएको विषयमा पनि उनले यो विषयमा आफूलाई कुनै पनि जानकारी नभएको, स्थानिय तहको सरकारले बजेट कटौती गरेका कारण संघिय सरकारले नै बारुण यन्त्र किनी दिनुपर्ने दाबी गरे ।
के भन्छन् जिल्ला समन्वय समितिका सभापति ?
बिष्णु गाउँपालिकामा आगलागी भएर एउटा टोल नै सखाप भएको घटना अत्यन्तै दुखद रहेको जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह बताए । आगलागी भएपछि तुरुन्तै बारुण यन्त्र नपुगेको कारण यहाँ ठुलठुला घटनाहरु भइरहेको सभापति सिंहले भने । जिल्लामा मलंगवा र हरिवन नगर गरी २ वटा मात्र बारुण यन्त्र रहेका छन् । घटना भएको दिन मलंगवा नगरपालिकाको बारुण यन्त्र बिग्रीएको थियो भने हरिवनको पुग्न अलि ढिलो भएको बताए ।
सभापति सिंहका अनुसार बारुण यन्त्र पालिका पालिकामा अथवा क्लस्टर बनाएर पुगोस भने चाहनाले जिससबाट ५ वटा स्थानिय तह बिष्णु, गोडैता, धनकौल, रामनगर र बलरा नगरलाई समेटेर एउटा क्लष्टर निर्माण गरी कार्यविधि बनाएर ति सबै तहको संयूक्त लगानी र संचालन खर्चमा गोडैतामा रहने गरी कार्यविधि बनाएर विपद व्यवस्थापन समितिबाट पारित भएका थिए ।
पारित भएको समेत ७, ८ महिना भइसक्यो तर कार्यन्वयन गर्दा बारुण यन्त्र स्टैण्डबाई हुन्थ्यो तर त्यो कार्यान्वयनमा भएको अवस्था छैनन ।  पुन फेरी हामी ताकेता गछौं विपदमा पनि र समन्वय समितिबाट पनि सबै स्थानिय तहरुलाई यथाशिघ्र त्यो कार्यविधि अनुसार कलष्टरमा स्टैण्डबाई बारुण यन्त्र राखिने बताए ।
प्रजिअको ठम्याई
बिष्णु गाउँपालिकामा भएको आगलागीको घटनाले विपद व्यवस्थापन समिति सहित सबै सम्बन्धित निकायलाई ठूलो पाठ सिकाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।
विपद व्यवस्थापनको लागि तयारी अवस्थामा रहन यो घटनाले देखाएको सुचना र मार्गदशर्न दिएको छ, प्रजिअ धमलाले भने । विपद नियन्त्रणका लागि योजना पर्याप्त छ । तर कागजको योजनाले आगो निभाउन नसकिने उहाँले जिकिर गरे । क्लस्टर निर्माण गरी दमकल किनेको भए, क्षति कम हुन्थ्यो होला, उहाँले थपे । विपद व्यवस्थापनका लागि जुन कागजमा लेखियो, त्यसलाई व्यवहारमा रुपान्तरण गर्नुको विकल्प नहुने बताउदै दमकल किन्नुपर्नेमा उनले जोड दिए ।
बर्षेनी जिल्लामा आगलागीबाट ठुलो जिउधनको क्षति हुदै आएको छ । जिल्ला विपद व्यवस्थापन समितिले समेत समयमा तदरुकता नदेखाउदा र उदार टोलि घटना स्थलमा ढिलो पुग्ने गरेका कारण समेत क्षति ठुलो हुदै आएको स्थानिय बताउँछन ।
अधिकारवादी के भन्छन् ?
स्थानीय तहले कमिशनका लागि ढलान, सडक तथा भवन निर्माण, गिटी, बालुवा, ग्राभेल तथा माटो लगायत विकास निर्माणमा बढी बजेट विनियोजन गर्ने स्थानिय सरकार विपद लगायत मानव विकासका संवेदनशिल मद्दामा ध्यान नदिदा बर्षेणी मधेसमा लाखौं लाखका जिउधनको क्षति हुदै आएको मानवअधिकारकर्मी मुकेश मिश्रले बताए ।
विपद व्यवस्थापन समिति लगायत स्थानिय जनप्रतिनिधि तथा राजनितिक दलहरु आगलागीबाट बस्ती जोगाउनु, विपदका लागि तयार रही आगलागी जस्ता घटनाहरुमा क्षतिलाई बढी भन्दा बढी न्यूनिकरण गर्नु भन्दा पनि सस्तो लोकप्रियताका लागि एक बोरा चामलको राहत लिएर पुगेर पिडित परिवारलाई झुठोको सहानुभुति देखाउन खोजेको उनको भनाई छ ।
सम्बन्धित निकायका लापरवाही कारण आफनो घर, खाधान्न सहित सारा साहारा गुमाएर त्रिपाल मुनि बस्न बाध्य भएका सयौं परिवारका व्यथ कस्ले बुझने अग्निपीडितहरुको ?

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै