आईसीसी टी–२० विश्वकपको सुपर १२ मा श्रीलंका प्रवेश

रौतहट, ४ कार्तिक । आईसीसी टी–२० विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ ।
युएई र ओमानमा भईरहेको आईसीसी टी–२० विश्वकपको छनौट खेलको पहिलो चरण अन्तर्गत बुधबार सम्पन्न भएको समूह ए को खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पार्दै सुपर १२ मा छनौट हुन सफल भएको हो ।
दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्याण्ड्स सँग अन्तिम खेल खेल्नुअघि नै सुपर १२ मा स्थान पक्का गरेको हो । लगातार दुई खेल हारेको नेदरल्याण्ड्स भने पहिलो चरणबाटै बाहिरिएको छ । अब आयरल्याण्ड र नामिबियाबीच हुने खेलको विजेता सुपर १२ मा पुग्नेछ ।
आबुधाबी स्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बेलब्रिनले सर्वाधिक ४१ र कर्टिस क्याम्परले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आयरल्याण्डलाई अलआउट गर्न श्रीलंकाका महिश थिक्शानाले ३ तथा चमिका करुणारत्ने र लहिरु कुरमाले दुई÷दुई विकेट लिए । थिक्शानाले ४ ओभरमा १७ रन खर्चँदा लहिरुले २२ रन खर्चिए । वानिन्दु हसारंग दे शिल्भाले चार ओभरमा १२ रन मात्र खर्चेर एक विकेट लिए । दुशमन्थ चमिराले पनि एक विकेट लिए ।