कराँची, २५ पुस । पाकिस्तानमा हिमपात चपेटामा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी शहर इश्लामावाद देखि उत्तरी क्षेत्रमा अवस्थित मुरी शहरको हिलटपमा हिँउ हेर्न एवं रमाइलो गर्न पुगेका मानिसहरु हिउँमा परिदा उनीहरुको मृत्यु भएको हो । हिमपातको कारण एक हजार भन्दा बढिी सवारी साधन अलपत्र परेका छन् ।
हिउँपातमा पुरिएर मृत्यु हुनेमा प्रहरी उनकी श्रीमती र उनीहरुको ६ जना सन्तान तथा अर्को पाँच जनाको परिवार रहेको बताइएको छ । हिउँका कारण अवरुद्ध सडकलाई सुचारु गराउन र हिउँमा फसेका व्यक्तिहरुको उद्धारमा सेना परिचालिन गरिएको छ । सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट आएको गृह मन्त्री शृख रशिदले जानकारी दिए ।
पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बिर र भिडियो भाइरल भएका थिए । हिउँका कारण सयौँ पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।