रुपन्देही, ९ मंसिर । नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २० औं संस्करण बुधबारदेखि सुरु भएको छ ।
रुपन्देहीको सालझण्डी स्थित नेपाली सैनिक ब्याटल स्कुलमा आयोजित विशेष समारोहबीच अभ्यासको औपचारिक शुभारम्भ गरिएको हो । मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले संयुक्त सैनिक अभ्यासको उद्घाटन गरे ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिकहरूको सहभागिता रहने उक्त अभ्यास मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।
२०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी प्रत्येक वर्ष सञ्चालन हुँदै आएको ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यासको १९औं संस्करण भारतको पिथौरागढमा भएको थियो ।
यसपटकको अभ्यासमा मुख्य रूपमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायता र उद्धार सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । अभ्यासका क्रममा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने छन् ।
प्राकृतिक विपद्का समयमा प्रभावकारी उद्धार तथा राहत परिचालन, प्रतिकूल भौगोलिक परिस्थितिमा सैन्य कारबाही र मानवीय सहायताका क्षेत्रमा संयुक्त क्षमता अभिवृद्धि गर्नु अभ्यासको प्रमुख उद्देश्य रहेको नेपाली सेनाले जनाए ।
नेपाली सेनाका अनुसार ‘सूर्यकिरण’ जस्ता संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुवै देशका सेनाबीच पेसागत दक्षता, पारस्परिक विश्वास, समन्वय र आपसी समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने छ ।