सिडनी, २० माघ । अस्ट्रेलियाले क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) को विदेश मन्त्री स्तरिय बैठक छिटै आयोजना गर्ने भएको छ ।
अन्तरराष्ट्रिय समाचार माध्यमको अनुसार क्वाडमा भारत, अमेरिका, जापान र अस्ट्रेलियाको विदेश मन्त्रीहरु वर्तमान सुरक्षा अवस्थाको वारेमा समिक्षा गर्दै त्यसबाट हुने सम्भावित खतराको मध्यनजर राखेर आवश्यक तयारी गर्ने सम्बन्धी बैठक दुई साता पछि अस्ट्रेलियामा आयोजना हुन लागेको हो ।
अस्ट्रेलियाली विदेश मन्त्री मारिस पेनेले बैठकको मिति सार्वजनिक गरिन्, तर उनले गत सोमबार ट्विटरमा भनेकी छिन्, “आगामी केही हप्तामा म अस्ट्रेलियामा क्वाडका विदेशमन्त्रीहरूलाई स्वागत गर्न उत्सुक रहेको छु ।” भारतका विदेशमन्त्री डा. एस जयशंकर त्यसका लागि अस्ट्रेलिया जाने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इन्डो–प्यासिफिक समन्वयमा जापान, भारत र अस्ट्रेलियाका समकक्षीहरू सँग छलफलका लागि सहभागी हुने उनी निकट स्रोतहरूलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले समाचार दिएका छन् । बैठक दुई–दिवसय हुनेछ । बैठकमा चीन, युक्रेन, रुस, अफगानिस्तान, मध्यपूर्व सहित इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका विषयमा छलफल हुने बताइएको छ । चीनले क्वाडलाई शीतयुद्धको निर्माण र अन्य देशहरूलाई लक्षित गर्ने समूहको रूपमा टिप्पणी गर्दै आएको छ ।
“यस क्षेत्रमा हामी रणनीतिक छनोटहरू दिन सहयोग गर्ने उदार लोकतन्त्रहरूको महत्त्वपूर्ण नेटवर्क हौं” अस्ट्रेलियाली विदेशमन्त्रीले भनेकी छिन्, “रणनीतिक प्रतिस्पर्धा, उदार अन्तररराष्ट्रिय व्यवस्थामा खतरा र बढ्दो अनिश्चितताको बीचमा प्रधानमन्त्री स्कट मोरिसनको सरकारले यस क्षेत्रमा अस्ट्रेलियाको साझेदारीलाई गहिरो बनाउँदै छ ।”
क्वाड समूहले यस क्षेत्रलाई कोभिड १९ विरुद्ध खोपको आपूर्ति बढाउने लगायत आपूर्ति श्रृंखला र प्रविधि सहयोगका बारेमा छलफल गर्ने समेत अपेक्षा गरिएको छ ।