जन्मदर माथि नियन्त्रण गर्ने नीतिमा फसे चिनियाँ कम्युनिष्ट सरकार

   २८ माघ २०७८, शुक्रबार १३:४५  

बेइजिङ, २८ माघ । चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश रहेको छ । तर संसारमा सबैभन्दा धेरै जनसंख्या हुँदाहुँदै पनि चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित रहेको हो ।
कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको कम्युनिष्ट सरकारले अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छन् । चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी हुन सकेनन् । त्यसपछि सरकारले तीन सन्तान नीति लागू गरेको छ । तर यसले पनि चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि देखिएको छैन । त्यसैले तीव्र रुपमा घटिरहेको जनसंख्या वृद्धिदर र बुढो भइरहेको जनसंख्याको रफतार रोक्नका लागि चीन सरकारले नागरिकहरुलाई बिहे गर्न र तीनवटा बच्चा जन्माउनका लागि विभिन्न खाले सन्देश दिन थालेको छ ।
टाइम्स अफ इजरायलमा प्रकाशित एक ब्लगमा सिपिएफ (राजनीतिक तथा विदेश मामिला केन्द्र) का अध्यक्ष फाबियन बोसार्टले बताएका छन् कि चीनले प्रोत्साहनका रुपमा बेबी बोनस, लामो तलबी विदा, करमा कटौती तथा बच्चाको पालन पोषण गर्नका लागि अनुदान दिने घोषणा गरेको छ ।
आमा बुवालाई लोभ्याउने अफर
चिनियाँ अधिकारीहरू दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् । बेइजिङ डबिनंग टेक्नोलोजी ग्रुपले आफ्नो कर्मचारीहरुलाई ९० हजार युआन सम्म नगद, १२ महिनाको प्रसुती विदा र ९ दिनको सुत्केरी स्याहार बिदा लगायतका विभिन्न सुविधा घोषणा गरेको छ ।
त्यस्तै अनलाइन ट्राभल कम्पनी ट्रिप कम ले पनि विभिन्न खाले अतिरिक्त लाभ दिने घोषणा गरेको छ ।
सन्तान नीतिमा परिवर्तन
गत अगष्टमा चीनले जनसंख्या एवम् परिवार नियोजन कानुन पारित गरेसँगै चीनका २० भन्दा धेरै प्रान्तीयस्तरका क्षेत्रहरूले आफ्नो स्थानीय शिशु नियमहरुमा संशोधन गरे । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ, शिचुआन तथा जियाङ्सी लगायतका क्षेत्रहरुमा विभिन्न उपायहरुको घोषणा गरिएको छ । जसमा पितृत्व अवकाश, मातृत्व अवकाश तथा विवाहका लागि छुट्टीको अवधि बढाउने लगायतका निर्णय गरिएको हो ।
जनसंख्या वृद्धिदर लगातार पाँचौँ वर्ष पनि घट्यो
चीनको जनसंख्या अघिल्लो वर्षको अन्त्य सम्ममा एक अर्ब ४१ करोड २६ लाख पुगेको छ । जस अनुसार चीनमा एक वर्षमा केवल पाँच लाखभन्दा पनि कम जनसंख्या बढेको छ र लगातार पाँचौँ वर्ष पनि जनसंख्या वृद्धिदर घटेको तथ्याँक प्राप्त भएको छ । यो आँकडाले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश माथि मडारिइरहेको जनसांख्यिक खतरा र त्यसले उत्पन्न गर्ने आर्थिक खतरालाई लिएर भय पैदा गर्दछ ।
राष्ट्रिय जनसांख्यिक ब्यूरोका अनुसार चीनको मूख्य भू भागको जनसंख्या सन् २०२० मा करीब १ अर्ब ४१ करोड २० लाखबाट बढेर २०२१ को अन्तसम्ममा १ अर्ब ४१ करोड २६ लाख पुगेको छ । समाचार ब्युरोका अनुसार सन् २०२० पछि एक वर्षमा चीनको जनसंख्या मात्रै ४ लाख ८० हजारले बढेको छ । सन् २०२१ मा १ करोड ६ लाख बच्चा जन्मिएका छन् जबकि सन् २०२० मा १ करोड २० लाख बच्चा जन्मिएका थिए ।
सिन्ह्वाको रिपोर्ट अनुसार यो तथ्यांकमा हङकङ तथा मकाउ निवासी तथा मूख्य भूमिका ३१ प्रान्त, स्वायत्त क्षेत्र तथा नगरपालिकाहरुमा रहने विदेशीहरू सामेल छैनन् । युरोको अनुसार सन् २०२१ मा चीनमा नवजात शिशुको संख्या एक करोड ६ लाख २० हजार थियो भने जन्मदर ७.५२ प्रतिहजार रह्यो । अघिल्लो वर्ष चीनको राष्ट्रिय मृत्युदर चाहिँ ७.१८ प्रतिहजार थियो । जन्मदरमा मृत्युदर घटाउँदा जनसंख्या वृद्धिदर केवल ०.३४ प्रतिशत कायम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै