नयाँदिल्ली — भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि भएको बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरातको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो । उक्त घटनामा दोषी दाबी गरिएका ४९ जनालाई जेलमा राखिएको थियो । ३८ जनालाई भने मृत्युदण्डको फैसला सुनाइएको हो ।
सरकारी अधिकारीहरूका अनुसार श्रीङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । तर दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै रहेको बताइएको छ ।
अहमदाबाद बमकाण्डमा जम्मा ७८ जनाविरुद्ध मुद्दा चलाइएको थियो । २८ जनालाई भने अदालतले सफाइ दिइसकेको छ । उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायत क्षेत्रमा २१ बम विस्फोट गराएका थिए ।