रौतहट=युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग मागेका छन्।
शनिबार ट्विटमार्फत यसबारे जानकारी दिँदै उनले आफ्नो देशमाथि रुसले गरेको हमलाको जानकारी दिँदै सक्दो सहयोगको अपेक्षा गरेको बताएका छन्।
‘एक लाखभन्दा धेरै रसियन सेना स्थलमार्गबाट आएका छन्’, उनले मोदीलाई भनेका थिए,’उनीहरुले हाम्रो राजधानी किभसहित सहरी इलाकामा भीषण गोलाबारी गरिरहेका छन्।’
उनले मोदीसँगको संवादबारे लेख्दै भारतसँग राष्ट्रसंघीय सुरक्षा परिषदमा राजनीतिक समर्थन दिन पनि अपिल गरेका छन्। यदि भारतसहितका देशको साथ मिल्यो भने युक्रेनमाथिको हमला अझै पनि रोक्न सकिने उनले बताए।
भारतका प्रधानमन्त्री मोदीले युक्रेनमा रुसको हमलापछि बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि फोन संवाद गरेका थिए। मोदीले त्यसक्रममा पुटिनलाई युक्रेनमाथि भइरहेको हिंसा तुरुन्त रोक्न आग्रह गरेका थिए।