ताइवानमा भईरहेको चिनियाँ हस्तक्षेपको फ्रान्सद्वारा आपती

पेरिस: पछिल्लो समय पश्चिमा मुलुकहरुको ध्यान ताइवानतर्फ केन्द्रित भएको छ। पश्चिमा मुलुकहरुले उच्चस्तरीय राजनीतिक भ्रमण पनि ताइवानमा केन्द्रित गरेका छन् भने ताइवानलाई संयुक्त राष्ट्रसंघको सदस्यता उपलब्ध गराउनुपर्नेसमेत लबिङ गरिरहेका छन्।
पश्चिमा मुलुकहरुको उक्त कदमप्रति चीनले कडा आपत्ति जनाउँदै आएको छ। कोरोना महामारीको समयमा चीनले ताइवानमा अन्य मुलुकहरुसँगको सम्बन्धलाई नियन्त्रण गर्ने प्रयास पनि गरेको थियो। यससँगै चीनले ताइवानमाथि आफ्नो प्रभुत्वलाई थप विस्तार गर्दै लगेको छ। चीनले ताइवानमाथिको हस्तक्षेप बढाउँदै लगेपछि फ्रान्सले चर्को आलोचना र निन्दा गरेको छ।
फ्रान्सेली विदेशमन्त्री जीन-यवेसले ताइवानसँगको यथास्थितिमा चीनले परिवर्तन गरेको भन्दै निन्दा गरेका हुन्। उनले भनेका छन्, ‘इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षाका लागि ताइवान स्ट्रेटको सुरक्षा आवश्यक छ। चीनले ताइवानप्रतिको स्टाटस कोमा परिवर्तन गर्न खोजेको छ। तर, ताइवानको कुनै पनि द्वन्द्व रोक्नको लागि पेरिस कदम चाल्न इच्छुक छ।’
यससँगै फ्रान्सेली विदेशमन्त्री जीनले ताइवानसँगको व्यापार सम्बन्धलाई पनि बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनले यसअघि ताइवानको आकाशमा ५० भन्दा बढी लडाकू विमानहरु उडाएर जुनसुकै समयमा पनि आक्रमण हुनसक्ने संकेत गरेको थियो। चीनले ताइवानलाई आफ्नो एक अंशको रुपमा मानेको छ भने ताइवान आफूलाई स्वतन्त्र राज्य भएको दाबी गर्छ।