बेइजिङ । नेपालले संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेसँगै उत्तरी छिमेकी चीनले प्रतिशोधपूर्ण व्यवहार थालेको छ । आफ्नो असहमतिका बीच अनुमोदन गरेको भन्दै चीनले नाकामा नेपालीलाई दुख दिने रणनीति लिएको हो ।
चीनले संखुवासभा जिल्लाको किमाथाङ्का-चेन्ताङ सीमा बन्दरगाह हुँदै नेपाल भित्रिने सामान ओसारपसारमा रोक लगाएको उच्च कुटनीतिक स्रोतले जानकारी दिएको छ । यो रोक देशमा बढ्दो कोभिड-१९ महामारी र चिनियाँ सरकारले चालेका कदमका बीचमा आएको बताइएको छ ।
नेपालले यस सीमा बन्दरगाहबाट दैनिक खाद्यवस्तु, निर्माण सामग्री, उपकरणलगायतका अत्यावश्यक वस्तु आयात गर्ने भएकाले आयात ठप्प हुँदा यस क्षेत्रका स्थानीयवासीलाई समस्या परेको छ । यसैबीच नेपाल पक्षले सीमा नाका खोल्न चिनियाँ अधिकारीलाई आग्रह गरेको तर आपूर्ति भने हुन बाँकी रहेको स्रोतले जनाएको छ ।
चीनले नेपाल-चीन सीमामा ट्रक र कन्टेनर रोकेपछि नेपालका व्यापारीहरुका लागि चिन्ताको विषय बनेको छ, जसले ढिलाइ र अवरोध निम्त्याएको छ । पछिल्लो तीन वर्षयता चीनतर्फको निर्यात घटेको तथ्याङ्कले देखाएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा निकासी २०७६/०७७ को तुलनामा १४.७ प्रतिशतले घटेर १ अर्ब रुपैयाँ पुगेको छ । तर, सरकारले थप कन्टेनर नेपाल छिर्न दिन चिनियाँ अधिकारीसँग वार्ता गरिरहेको छ ।
गत वर्ष नोभेम्बर २३ मा ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकालले ट्विट गर्दै भनेका थिए, ‘चीनको टार पोर्ट र वाणिज्य सम्बन्धित अधिकारीहरूसँग भेटवार्ता भएको थियो, केरुङबाट नेपाल जाने कार्गोको सङ्ख्या बढाउन र मलको छिटो ढुवानीलाई सहज बनाउने विषयमा छलफल भएको थियो । तातोपानीबाट ट्रक बढाएर २० ट्रक पुर्याउने, १५ हजार टन मल मल ढुवानीमा सहजीकरण गर्ने र केरुङबाट कार्गो बढाउन अध्ययन गर्ने आश्वासन दिएको छ ।’
तर यो आश्वासन पूरा नहुँदै चीनले थप कडाई गरेर नेपालीलाई दुख दिन थालेको छ । केरुङ र तातोपानीपछि किमाथाङ्का-चेन्ताङमा पनि कडाई गरेर दुख दिने रणनीति लिएको देखिन्छ ।