नेपाली काँग्रेस सांसद शाह र उत्तर प्रदेशको मुख्यमन्त्री योगि बिच टेलिफोन संवाद

   २८ फाल्गुन २०७८, शनिबार १९:१०  

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सत्तारुढ नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहबीच टेलिफोन वार्ता भएको छ ।

फोन वार्तामा सांसद शाहले हालै सम्पन्न विधानसभा निर्वाचनमा भारी मतले विजयी भएका मुख्यमन्त्री आदित्यनाथलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको बिहीबार सम्पन्न मतपरिणाममा योगी र भाजपाले उत्तर प्रदेशमा भारी बहुमत ल्याएको छ । लगातार दुईपटक सरकार चलाउने रेकर्ड कायम गरेको छ ।

भाजपा र योगीको सफलतामा बधाई दिँदै सांसद शाहले नयाँ कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईमा पुग्ने र राज्यसँग सम्बन्ध पनि बलियो हुने विश्वास लिएका थिए । जवाफमा मुख्यमन्त्री आदित्यनाथले धन्यवाद दिँदै नेपाल र भारतको प्राचिन सम्बन्ध अझै नयाँ उचाईमा पुग्ने बताएका थिए । उनले उत्तर प्रदेश राज्य सरकारले नेपालसँग मिलेर काम गर्ने बताएका थिए ।

वार्ताका क्रममा योगीले दोस्रो कार्यकालको मुख्यमन्त्री पदको सपथ समारोहमा सहभागी हुन निम्तो दिएको सांसद शाहले बताए । ‘उहाँले तपाई मेरो सपथग्रहण समारोहमा आउनुस् । नेपाल भारत सम्बन्धबारे बसेर कुरा गरौं भन्नुभयो,’ शाहले भने ।

योगीको निमन्त्रणमा आफू सपथ समारोहमा लखनऊ जाने सांसद शाहले बताए । उत्तर प्रदेशसँग जोडिएको कपिलवस्तुबाट निर्वाचित सांसद शाहको योगीसँग विशेष सम्बन्ध छ । योगीले उत्तर प्रदेशमा सांसद शाहलाई विशेष आतिथ्यता दिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै